एसपि रिपोर्टर
सप्तरी, असार ९ : सप्तरीको खडक नगरपालिकाले बालश्रममुक्त पालिका घोषणा गर्ने अभियानलाई अगाडि बढाएको छ । नगरपालिकाको नीति अनुसार बालश्रममुक्त नगरपालिका घोषणाको तयारी स्वरूप वडामा अनुगमन सुरु गरिएको हो ।
बालबालिकालाई कानुन विपरीत हुने गरि कुनै काममा लगाउन नहुने कानुनी व्यवस्था र नगरपालिकाको नीति अनुसार वडा नम्बर ८ लाई यसै आर्थिक वर्षमा बालश्रममुक्त वडा घोषणा गर्न लागिएको नगर प्रमुख जयप्रकाश चौधरीले जानकारी दिनुभयो ।त्यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको भन्दै उहाँले वडा नम्बर ८ लाई बालश्रममुक्त वडा घोषणा गर्नका लागि नगर उपप्रमुख तथा नगर बालअधिकार समिति संयोजक रिताकुमारी चौधरी नेतृत्वको टोलीले वडाभरिका इँटाभट्टी, पोल्ट्री फर्म, ग्रिल उद्योग, पसल लगायतको स्थानमा अनुगमन गर्नुभएको बताउनुभयो ।अनुगमनको क्रममा त्यस वडामा बालश्रम गर्नेको सङ्ख्या शुन्य पाइएकोले एकसाता भित्रै बालश्रममुक्त वडा घोषणाको तयारी थालिएको नगर प्रमुख चौधरीको भनाइ छ ।”पालिकालाई नै बालश्रममुक्त बनाउन वडा नम्बर ८ बाट त्यसको सुरुवात गर्दैछु, आउने आर्थिक वर्षमा क्रमशः अन्य वडालाई बालश्रममुक्त वडा घोषणा गर्दै पालिकालाईलाई बालश्रममुक्त घोषणा गर्ने लक्ष्य रहेको छ,” नगर प्रमुख चौधरीले भन्नुभयो ।



