एसपि रिपोर्टर
पर्सा , असार ८ : शनिबार राति बहुदरमाई नगरपालिका–५ पटनीमा भएको सवारी दुर्घटनामा परी एक भारतीयको मृत्यु भएको छ ।
दुर्घटनामा परेका दुवै सवारीसाधन जलेर नष्ट भएका छन् ।राति साढे ९ बजेको समयमा महुवनबाट डकैलातर्फ जाँदै गरेको बीआर ०१ पीए ४४०९ नम्बरको भारतीय सुमो र विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको मोटरसाइकल आपसमा ठोक्किएका थिए । दुवै सवारीसाधन सडकबाट ४ मिटर तल खसेपछि आगलागी भएको थियो । मोटरसाइकल चालक भारत बिहार पूर्वी चम्पारणका ३८ वर्षीय नरेश साह वर्णवाल गम्भीर घाइते भएका थिए । वीरगन्जस्थित नारायणी अस्पतालमा उपचारको क्रममा राति १० बजे उनको मृत्यु भएको थियो ।मोटरसाइकलमा पछाडि सवार पर्सा बहुदरमाई–५ पटनीका १९ वर्षीय रोशनकुमार वर्णवाल घाइते भई नारायणी अस्पतालमै उपचाररत छन् । सुमो चालक फरार रहेकामा उनको खोजी भइरहेको पर्सा प्रहरीले जनाएको छ ।



