एसपि रिपोर्टर
सर्लाही , असार ७ : सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर ४, खैरवाटोलमा बिहान बाटो विस्तारका क्रममा दुई पक्षबीच झडप हुँदा प्रहरीसहित १० जना घाइते भएका छन् । सडक विस्तारका विषयमा विवादपछि ढुङ्गा हानाहान भएको थियो ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नाका साथै एक राउन्ड गोली चलाएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता बालिष्टर सिंहले जानकारी दिनुभयो । घटनामा घाइते भएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) दिवाकर गणेश र प्रहरी जवान प्रमेश्वर राय यादव उपचारपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।अरू आठ जना घाइते स्थानीयबासिन्दा हुन् । गम्भीर घाइते भएका स्थानीयबासिन्दा ५० वर्षीय कुलबहादुर कार्की र ५५ वर्षीय टीकाबहादुर कार्कीलाई थप उपचारका लागि काठमाण्डौ पठाएको प्रहरीले जनाएको छ । झडपमा संलग्न भएको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।बरहथवा नगरपालिका–४ वडा कार्यालयले खैराटोलको सडक ढलान गर्न चालू आर्थिक वर्षको योजनाबाट सात लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सडक विस्तार गर्दा सडकको दुईतर्फ नै बराबर जग्गा लिनुपर्ने माग गरेकोमा केहीले जबर्जस्ती ढलान गर्न खोजेपछि झडप भएको हो ।



