एसपि रिपोर्टर
रौतहट , असार ७ : रौतहटमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको फतुवा विजयपुर नगरपालिकामा गएराति आफ्नै खेतमा पानी तान्ने मेसिनबाट करेन्ट लाग्दा रामदासी गाउँका २२ वर्षीय सावल कुशवाहाको मृत्यु भएको हो ।
उनको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर सुरेन्द्र प्रसाद यादवले जानकारी दिए । शुक्रबार राति आफ्नै खेतमा पानी तान्न उनले विद्युत् पोलबाट तार जडान गर्ने प्रयास गर्दा करेन्ट लागेको थियो । उनको घटना स्थलमै मृत्यु भएको इन्स्पेक्टर यादवले जानकारी दिएका छन् । मृतकको शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुर पठाइएको प्रहरीले जानकारी दिएको छ । घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय विजयपुरले जनाएको छ।



