एसपि रिपोर्टर
काठमाणडौं , असार ३ : गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा यातायात व्यवस्था कार्यालय पर्साका तत्कालीन अधिकृत कमलराज गौतमविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सार्वजनिक पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गौतमविरुद्ध २ करोड ५१ लाख ७८ हजार ६८७ रुपैयाँ बिगो कायम गरी मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार प्रतिवादी गौतमविरुद्ध बिगो बमोजिम जरिवाना, कैद सजाय र स्रोत नखुलेको सम्पत्ति जफतको मागदाबी गरिएको छ ।यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, पर्साका अधिकृत (आठौं तह) गौतमले पदमा रहँदा चालक अनुमति पत्रमा अनियमितता गरेको आरोपमा अख्तियारमा उजुरी परेको थियो । त्यसपछि अख्तियारले गौतम सार्वजनिक ओहोदामा रहेयताको सम्पत्ति छानबिनको दायरामा ल्याएको थियो । विशेष अदालतमा दायर अभियोगपत्रअनुसार गौतमको २०५५ वैशाख ७ देखि २०७९ चैत २४ सम्मको चलअचल सम्पत्तिमाथि अनुसन्धान गर्दा स्रोत नखुलेको जायजेथा भेटिएपछि त्यसलाई नै बिगो कायम गरी मुद्दा दायर गरिएको हो ।जाँच अवधिमा निजको पारिश्रमिक बचत रकम, बैठक भत्ता तथा पर्यटन काजको बचत रकम, श्रीमती सरला नेपालको पारिश्रमिक बचत र भ्रमण भत्ता बचत रकम, घर/जग्गा बिक्री आय, सञ्चय कोष, बैंकहरू तथा जनक शिक्षा सामग्रीबाट ऋण/सापटी लिएको रकम, शेयर बिक्रीबाट प्राप्त रकम, सवारी साधन बिक्री आय, बीमा परिपक्क/समर्पण आय, कृषि आय, घर भाडा आय र बैंक ब्याज आय गरी कूल २ करोड ८९ लाख २० हजार २ सय ६८ रुपैयाँको मात्र वैध आय स्रोत खुलेको देखिएको आयोगले जनाएको छ ।’उक्त अवधिमा निजको एकासगोल घरपरिवारको नाममा घर निर्माण, घर/जग्गा खरिद, घर/जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन खरिद, बीमा प्रिमियम भुक्तानी, अध्ययन खर्च, सञ्चय कोष/बैंक/जनक शिक्षा सामग्रीमा ऋण तिरेको रकम, शेयर खरिद रकम, बैंकमार्फत खर्च लगानी, सुन खरिद र बैंक मौज्दात गरी ५ करोड ४० लाख ९८ हजार ९५५ रुपैयाँ बराबरको सम्पत्ति खर्च तथा लगानी गरेको देखिँदा कूल आयबाट खर्च तथा लगानी घटाउँदा २ करोड ५१ लाख ७८ हजार ६८७ रुपैयाँ ऋणात्मक हुन गई स्रोत पुष्टि हुन नसकेको हुँदा निजले गैरकानुनी सम्पत्ति आर्जन गरेको पुष्टि भएको आयो,’ अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा भनिएको छ ।गौतमले गैरकानुनी सम्पत्ति लुकाउन वार्षिक रूपमा पेस गरिने सम्पत्ति विवरणमा पनि झूट्टा दाबी गरेको अनुसन्धानबाट खुलेको छ ।अख्तियारले गैरकानुनी सम्पत्ति पत्नीका नाममा पनि लुकाएको देखिएकोले सम्पत्ति जफत प्रयोजनका लागि गौतमकी पत्नी सरला नेपाल गौतमलाई पनि प्रतिवादी बनाएको छ ।



