एसपि रिपोर्टर
राजविराज , असार ३ : सप्तरीमा कोशी नदी हुँदै आठ क्विन्टलभन्दा बढी गाँजा तस्करी गर्न लागेका आरोपित अढाई वर्षपछि पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय भारदहले आइतबार राति जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहका बुधन भनिने ३५ वर्षीय जोगानन्द मण्डललाई पक्राउ गरेको हो ।मण्डलले गाँजा तस्करी गर्न लागको भन्दै आएको गोप्य सूचनाका आधारमा खटिएका प्रहरीले २०७९ पुस १४ मा कोशी ब्यारेजस्थित गोलदेखि ५ सय मिटर उत्तर–पूर्व कोशी भंगालको पूर्वी टापुबाट आठ क्विन्टल १० किलो गाँजा बरामद गरेको थियो । टापुमा बालुवामुनिबाट २७ वटा बोरामा सो गाँजा बरामद गरिएपनि तस्करी गर्न लागेका आरोपित मण्डल भने फरार थिए ।पक्राउ गरिएका मण्डलमाथि लागुऔषध गाँजासम्बन्धी कसुरमा सात दिन म्याद थप लिइएको छ भने उनीमाथि लागेका अन्य मुद्दामा पनि अनुसन्धान भइरहेको डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।



