एसपि रिपोर्टर
राजविराज, जेठ २७
: सप्तरीको राजविराज नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरिएको विषयमा आन्दोलन भइरहँदा मंगलबार लेखा अधिकृत कुटिएका छन् ।

नगरपालिका कार्यालय परिसरमै लेखा अधिकृत शत्रुधनलाल दास कुटिएका हुन् । दासलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएको छ । निलम्बित मेयर भीमराज यादवको निर्देशनमा आफूमाथि कुटपिट भएको उनले बताए । ‘यादवले निर्देशन दिॅंदा ४/५ जनाले कुटपिट गरे, उनीहरुले सुनको सिक्री पनि खोसेका छन्,’ उनले भने ।भ्रष्टाचार गर्न उपसचिवस्तरका प्रमुख प्रशासकीय अधिकृतको सरुवा गराएको आरोप लगाउॅंदै नगरपालिकामा तालाबन्दी गरेर धर्ना बसिरहेका निलम्बित मेयर यादवले भने कार्यवाहक मेयर इसरत परविन र कर्मचारी मिलेर आफूहरुलाई नै कुटपिट गर्ने प्रयास गरेको बताए । ‘हामी शान्तिपूर्ण रुपमा धर्ना बसिरहेका थियौं, प्रहरी लिएर आएका उनीहरुले जबरजस्ती ताल्चा फोडेर हामीमाथि कुटपिटको प्रयास गरे । सो क्रममा ९ नम्बरका वडाध्यक्षलाई पनि चोट लागेको छ,’ उनले भने, ‘निमित्तलाई जिम्मेवारीबाट हटाएर उपसचिवस्तरका प्रमुख प्रशासकीय अधिकृत नल्याएसम्म हाम्रो आन्दोलन रोकिँदैन ।’प्रमुख प्रशासकीय अधिकृत डा. श्रवणकुमार साहको सरुवा गराएर आठौं तहका शिक्षा शाखामा कार्यरत कर्मचारी भोगेन्द्रप्रसाद यादवलाई निमित्त दिएपछि उनीहरुले आइतबारदेखि नगरपालिकामा तालाबन्दी गरी धर्ना बसिरहेका छन् । ती विषय समाधान गर्न सोमबार दुवै पक्षबीच लामो समय छलफल हुँदा समेत टुंगो नलाग्दा विवाद बढ्दै गएको छ ।कार्यालयमा समय नदिॅंदा डा.साहलाई सरुवा गराउन बाध्य भएको कार्यवाहक मेयर परविनले बताइन् । ‘हामीले पनि उपसचिव नै मागेका थियौं तर मन्त्रालयमा उपसचिव अभाव रहॅंदा असारसम्मका लागि निमित्तबाटै कार्यालय सञ्चालन गर्नुपर्ने अवस्था आयो,’ उनले भनिन्, ‘यो व्यर्थको आन्दोलन हो, कसैले भ्रष्टाचार नै गर्‍यो भने त्यसलाई निगरानी गर्ने निकाय छैन र ?’एसपी ढकेन्द्र खतिवडाले कर्मचारीमाथि कुटपिट भएको विषयमा थप अनुसन्धान भइरहेको बताए । ‘अहिले तत्काल हामी माहोल शान्त पार्न लागेका छौं, कुटपिट भएको विषयमा थप अनुसन्धान पनि भइरहेको छ,’ उनले भने ।