एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १४ :
लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले नेपाली जनता पहिलेदेखि नै आतंकबाट पीडित रहँदै आएको बताएका छन् । लोसपाको जनकपुरधामस्थित कार्यालयको उदघाटन गर्दै अध्यक्ष ठाकुरले नेपाली जनता निरंकुश राणा शासन तथा राजतन्त्रको आतंकबाट पहिलेदेखि नै गुजरी सकेको बताए ।



यद्यपि राजतन्त्र समाप्त भएपछि पनि मधेसी जनता राज्यको आतंकबाट पीडित रहँदै आएको भन्दै हामी सबै आतंकवाद विरुद्धको लडाईमा एक हुनु आवश्यक रहेको बताए ।भारतको कश्मिरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणको चर्चा गर्दै उनले मधेसी जनता अहिलेपनि आतंकबाट मुक्ति पाउन नसकेको बताए । उनले धर्म र जातको आधारमा ताकेर निर्दोष पर्यटकहरुलाई आतंकवादीहरुले हत्या गरेकोमा रोष प्रकट गरे । ठाकुरले नेपालमा पनि धर्म र जातको बाजा बजाउनेहरु बजाईरहेको र यसले नेपाललाई कल्याण नगर्ने बताए ।

उनले भने –नेपालमा पनि हिन्दु राष्ट्रको माग उठिरहेको छ, हिन्दु राष्ट्र बनाउनु ठूलो कुरो होइन तर के हिन्दु राष्ट्र बनाउँदैमा पशुपतिनाथको लड्डु आफै घर–घरमा पुग्छ र ? नेपालमा विभिन्न धर्म र जातका व्यक्तिहरु वसोवास गर्छन् सबैको विकास भए मात्रै नेपालको विकास सम्भव रहेको उनले बताए । उनले सो कार्यक्रममा आफ्ना नेता तथा कार्यकर्ताहरुलाई पार्टीलाई सुदृढ बनाउने अभियानमा समेत लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए ।