एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १९:
भगवान श्रीकृष्णको जन्मोत्सवको अवसरमा जनकपुरधामसहित आसपासका गाउँ–गाउँमा विविध धार्मिक कार्यक्रम तथा भव्य मेलासहित कृष्ण जन्माष्टमी पर्व मनाइँदै छ ।
जनकपुरधामको रेल्वे स्टेशन, कृष्ण मन्दिर, जिरोमाइल, भ्रमरपुरा चोकलगायतका स्थानमा आकर्षक मेला तथा धार्मिक कार्यक्रम आयोजना गरिएको छ । विशेषगरी रेल्वे स्टेशन क्षेत्रमा स्थानीय स्टेशन एरिया युवा समितिको अगुवाइमा परम्परागत रूपमा देवी–देवताका पार्थिव मूर्ति स्थापना गरी भव्य मेला आयोजना हुँदै आएको छ ।
त्यस्तै, जनकपुरधाम–४ स्थित ऐतिहासिक कृष्ण मन्दिरमा बिहानैदेखि श्रद्धालु भक्तजनको भीड लागेको थियो । भक्तजनहरूले भगवान श्रीकृष्णको पूजा–आराधना गर्दै दर्शन तथा आशीर्वाद लिइरहेका छन् ।

हिन्दू परम्पराअनुसार भाद्र कृष्ण अष्टमी तिथिको मध्यरातमा माता देवकीको कोखबाट भगवान श्रीकृष्णको जन्म भएको मानिन्छ । ज्ञानयोग, हठयोग तथा कर्मयोगका प्रणेता भगवान श्रीकृष्णको दिव्य जन्मको स्मरणमा प्रत्येक वर्ष हिन्दू धर्मावलम्बीहरूले श्रद्धा, भक्ति र उल्लासका साथ कृष्ण जन्माष्टमी पर्व मनाउँदै आएका छन् ।
यसैबीच, जनकपुरधाम उपमहानगरपालिका–स्थित बेंगा शिवपुरमा पनि कृष्ण जन्माष्टमी धुमधामका साथ मनाइँदै छ । शुक्रबार भव्य कलश शोभायात्रा आयोजना गरिएको थियो । शोभायात्रामा प्रदेश सांसद शेषनारायण यादव, नेकपा एमालेका नेता शिवशंकर साह ‘हिरा’ लगायतको उपस्थिति रहेको थियो । कृष्ण जन्माष्टमी पूजा परिवार, बेंगाका अनुसार शनिबार भव्य मेला तथा विभिन्न धार्मिक कार्यक्रम आयोजना गरिने भएको छ ।






