एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ३:
जनकपुरधाममा रामानन्दीय वैष्णव संघको आयोजनामा तुलसी जयन्ती महोत्सव भव्य रूपमा मनाइएको छ। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको महोत्सवमा साधुसन्त, धर्मगुरु तथा भक्तजनको उल्लेख्य सहभागिता रहेको थियो।
महोत्सवका अवसरमा भगवान् रामका अनन्य भक्त तथा ‘रामचरितमानस’का रचनाकार गोस्वामी तुलसीदासको जीवन, दर्शन र योगदानको स्मरण गरिएको थियो। रामानन्दीय वैष्णव संघका अध्यक्ष रामरोशन दास वैष्णवका अनुसार कार्यक्रममा तुलसीदासको साहित्यिक योगदानसँगै सनातन धर्म र समाजमा उनले पु¥याएको योगदानबारे चर्चा गरिएको थियो।
महोत्सवमा ‘रामचरितमानस’का विभिन्न प्रसंग वाचन, भजनकीर्तन तथा धार्मिक प्रवचनसमेत आयोजना गरिएको थियो। सहभागी साधुसन्त तथा भक्तजनले तुलसीदासका रचनाले धार्मिक आस्था, नैतिकता तथा सामाजिक सद्भाव अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको धारणा व्यक्त गरेका थिए।
कार्यक्रममा वक्ताहरूले तुलसीदासले भगवान् रामको आदर्श चरित्र र जीवनदर्शनलाई जनसाधारणसम्म पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे। उनका रचनामा समेटिएका मानवता, कर्तव्य, मर्यादा र सदाचारका सन्देश आजको समाजमा पनि उत्तिकै सान्दर्भिक रहेको उनीहरूको भनाइ थियो।
भजनकीर्तन तथा धार्मिक अनुष्ठानका कारण महोत्सव अवधिभर जनकपुरधामको वातावरण भक्तिमय बनेको थियो। सहभागीहरूले तुलसीदासको योगदानको स्मरण गर्दै धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र प्रवद्र्धनमा सबैले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
रामानन्दीय वैष्णव संघले तुलसी जयन्ती महोत्सवलाई आगामी वर्षहरूमा समेत निरन्तरता दिँदै धार्मिक तथा सांस्कृतिक गतिविधिमार्फत जनकपुरधामको मौलिक पहिचान संरक्षणमा योगदान गर्ने जनाएको छ।





