एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख २८ : नेपाली काँग्रेसका पूर्वउपसभापति एवम् पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले संसद् अवरुद्ध हुनुमा सत्ता पक्ष जिम्मेवार रहेको बताएका छन् । शुक्रबार गृहजिल्ला आएका निधिले जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै संसदीय छानबिन समिति गठन गर्ने संसद्को अधिकार भएको र त्यो अधिकार प्रयोग गर्न नदिइरहेको सत्ता पक्षका कारण नै सदनमा अवरोध भइरहेको उल्लेख गरे ।
उनले भने, ‘संसदीय नियमावलीअनुसार काम गर्नका लागि जसले रोकेको छ । वास्तवमा सदन तिनले नै अवरोध गरेको हो ।’ गृहमन्त्री रवि लमिछानेको संलग्नता भएको आशङ्का गरिएको सहकारी ठगी प्रकरणमा छानबिन गर्नका लागि संसदीय छानबिन समिति गठनको माग गर्दै नेपाली काँग्रेसले सदन अवरुद्ध गर्दै आएको छ ।
आजबाट सुरु भएको वर्षे अधिवेशनको पहिलो दिन प्रमुख प्रतिपक्षी दल काँग्रेसलगायतले सहकारी अनियमितताका विषयमा उपप्रधान एवम् गृहमन्त्री लामिछाने जोडिएको भन्दै छानबिन समिति गठन गर्न सत्ता पक्ष तयार नहुँदासम्म सदन चल्न नदिने अडान लिएको छ । काँग्रेसका पूर्वउपसभापति निधिले संसदीय छानबिन समिति गठन गर्ने अधिकार र काम संसद्को भएकाले त्यो गठन गर्ने अधिकार सत्ता पक्षले प्रयोग गर्न दिनपर्ने बताए ।
उनले सदनको अवरोध हटाउन संसदीय छानबिन गठन गरिनुपर्ने भन्दै छानबिन समिति गठन गर्न सत्ता पक्ष असहमत भएर सदनलाई बन्धक बनाएको आरोप लगाए । उनले भने, ‘सत्ता पक्षले र्साभौम संसद्लाई छानबिन समिति बनाउन दिइरहेको छैन । जनसरोकारका विषयहरू सदनमा सांसदले उठाउन नपाएपछि सदनमा बस्नुको अर्थ रहँदैन ।’
पत्रकारहरूको एक प्रश्नमा पूर्वगृहमन्त्री निधिले गृहमन्त्री लामिछानेले सदनमा स्पस्टीकरण दिएर मात्र नहुने बताए । उनले भने, ‘गृहमन्त्री लामिछानेको स्पस्टीकरण होइन, त्यस विषयमा संसदीय छानबिन नै हुनुपर्छ । स्पस्टीकरण दिनु उहाँको आफ्नो कुरा हो ।’ उनले सहकारी ठगी प्रकरणमा संसद्बाट छानबिन हुनुपर्ने काँग्रेसको बटम लाइन भएको दोहर्याए ।
एक अर्को प्रसङ्गमा नेता निधिले काँग्रेससँग तत्काल नयाँ सरकार बनाउने कुनै योजना नभएको स्पस्ट पारे । उनले काँग्रेससँग मिलेर नयाँ सरकार गठन गर्ने उपेन्द्र यादवको योजनाका कारण जसपा नेपाल फुटेको कुरामा सत्यता नरहेको बताए । उनले भने, ‘प्रचण्डजीले कतै भन्नुभयो कि जसपा नेपाललाई हामीले नै फुटाएका छौं । काँग्रेसको त्यसमा कुनै भूमिका छैन ।’ उनले देश, प्रदेश र मधेशमा भने काँग्रेसको सरकार बनाउने योजना स्वाभाविक रूपमा रहिरहने भन्दै तत्काल मधेश प्रदेशमा त्यस्तो योजना नरहेको बताए ।
शनिवार निधि सहित कांग्रेस नेता डा. मिनेन्द्र रिजाल सहितको उपस्थितीमा कांग्रेस धनुषाले जनकपुरधामको मारवाडी सेवा समितिमा एक कार्यक्रमको आयोजना गरेको छ ।