एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २ :
आदर्श नारी सीताको जन्मदिनको अवसर पारेर जनकपुरधाममा ९ दिवसीय जानकी जन्म महोत्सव धुमधामका साथ मनाइदैछ । सीताको मिथिलामा जन्म भएको धार्मिक मान्यताअनुसार प्रत्येक वर्ष जानकी नवमी धूमधामका साथ मनाउने परम्परा रहेको छ ।
मिथिलाका राजा शिरध्वज जनकको छोरीको रुपमा जगत जननी जानकीको प्रादुर्भाव भएको धार्मिक ग्रन्थहरु उल्लेख छ । वैशाख शुक्लपक्ष नवमी तिथिका उनको प्रादुर्भाव भएको मान्यता अनुसार जानकी जन्म महोत्सव मनाइन्छ ।
सीताको जन्मोत्सवमा सहभागी हुन तथा पूजापाठ गर्न नेपाल तथा भारतका विभिन्न स्थानबाट श्रद्धालु भक्तजन तथा पर्यटकहरु जनकपुरधाम आउने गर्छन् । यद्यपि नेपालको राष्ट्रिय विभूती सीताको जन्म दिवसमा राष्ट्रिय विदा नहुँदा जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव दुःख व्यक्त गर्छन । उनले राष्ट्रिय पर्वको रुपमा जानकी नवमीको अवसरमा राष्ट्रिय विदा दिन नेपाल सरकारसंग माग समेत गरेका छन् ।
जानकी मन्दिरले नौ दिवसीय जानकी नवमीको अवसर पारेर विभिन्न कार्यक्रमको आयोजना गरेको छ भने जानकी नवमीका दिन दूधमती नदीमा शाही स्नानका साथै भव्य पूजाको तयारी समेत गरेको छ ।