एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ५ : एक महिना नपुग्दै धनुषामा पत्रकारहरुको श्रृखंलावद शंकाष्पद मृत्यू भइरहेको छ । अनि दुर्घटनामा मारिएको भन्दै हल्ला फैलाइन्छ । तर घटना शंकाष्पद रहेको विभिन्न प्रमाणहरु पिडित परिवार र सम्वद्व सञ्चारमाध्यमले आफै खोजेर दिएपनि प्रहरी प्रशासन मुखदर्शक मात्र बनिरहेको देखिन्छ ।
जनकपुरधाममा कारले मोटरसाइकलमा ठक्कर दिंदा शनिवार विहान करिव ३ बजे नै पत्रकारको मृत्यु भएको छ । मृत्यु हुनेमा राजधानी जनकपुर अनलाइनमा कार्यरत ३२ वर्षीय शिवेन्द्र रोहिता छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बिहान ३ बजेतिर जनकपुरधामको थापाचोकमा बा२१च ३३४३ नम्बरको कारले रोहिता सवार प्रदेश२ज ५६९४ नम्बरको मोटरसाइकलमा ठक्कर दिंदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
मोटरसाइकलमा पछाडि बस्ने मृतक रोहिताका साथी २५ वर्षीय जयनाथ यादव घाइते भएका छन् । उनको जनकपुरको सीता अस्पतालमा उपचार भइरहेको छ । मृतक पत्रकार रोहिता धनुषाको शहीदनगर नगरपालिका ८ का बासिन्दा हुन् । कार र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको औपचारिक टिप्पनी जिल्ला प्रहरी कार्यालय धनुषाको छ ।
मोटरसाइकलमा सवार अन्य एकजना घाइते मात्र भएको छ । अनि चारजना कार सहित पक्राउ परेका छन । यस्तै घटना केहि दिन अगाडि मात्र भएको र त्यसमा पनि पत्रकारको मृत्यू भई वाँकी सबै बाँच्न सफल भएको थियो । घटना गत बैशाख ११ गतेको हो ।
रेडियो धनुषाधामका सञ्चालक तथा इन्युज ब्युरोका कार्यकारी सम्पादक २८ वर्षिय विनय कुमार यादवको यसरीनै मृत्यु भएको थियो । बिहान करिब ४ बजे उनले चलाएर जनकपुरतर्फ आउँदै गरेको प्रदेश ०२–००६ प ३०३५ नम्बरको मोटरसाइकल मिथिला नगरपालिका ६ स्थित जनकपुर ढल्केबर सडकखण्डमा अनियन्त्रित भएर सडक छेउको रेलिङमा ठोक्किएर दुर्घटना भएको र उनको मृत्यू भएको प्रहरीले प्रचार गरे ।
दुर्घटनामा गम्भीर घाइते भएका यादवको उपचारको क्रममा बिहान करिब ६ बजे मृत्यु भएको धनुषा प्रहरीले बताउछ । पछि परिवारजन र यादवले काम गर्ने सञ्चारमाध्यमले विभिन्न प्रमाण सहितको तथ्यहरु बाहिर ल्याउन थालेपछि मात्र प्रहरी ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता गरेपनि कुनै तथ्य बाहिर ल्याउन प्रहरी सफल भइरहेको देखिदैन । प्रहरीले दुबै घटनामा उनीहरुको घरायसी, समाजिक र व्यक्तिगत रिसिबीका तथ्यहरुलाई आधार बनाएर अनुसन्धान गर्न आवश्यक देखिन्छ ।
समाचार लेख्ने क्रममा कुनै एक पक्षमा असन्तुष्टि हुन गई पत्रकारहरुसंग धेरैको दुश्मनी हुने भएकाले पत्रकारहरुले पनि सावधानी अपनाउन आवश्यक रहेको सर्वसाधारणको भनाई छ ।