एसपी रिपोर्टर
जनकपुरधाम, पुष १ : प्राचिन मिथिलाको राजधानी जनकपुरधाममा प्रत्येक वर्ष आयोजना हुने विवाहपञ्चमी महामहोत्सवमा आज धुमधाम छ । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बा्रहबिघ्घा रंगभुमि मैदानमा भब्यता पुर्वक भगवान रामजानकीको स्वयवंर शु–सम्पन्न भएको छ भने अवेर राती सम्म वैवाहिक कार्यक्रम हुदैछ ।
राम र जानकी मन्दिरका साथै जनकपुरधाममा भेटिने भगवान रामजानकीको हरेक प्रतिमा, स्वरुपमा मिथिलावासी र दर्शनालुहरुको उत्तिकै श्रद्धा झल्किन्छ । नेपाल र भारतका दर्शनालुले जनकपुरधाम भरिभराउ छ । यहाँका विद्यालयहरु तिन दिन बन्द गरि जनकपुरधाम मेला भर्न आएका अतिथिको वासस्थल बनाइएको छ । स्थानियवासीलाई घरमा पाहुना पुगे सत्कार गर्न र शौचालयहरु निर्वाध रुपमा प्रयोग गर्न दिन तथा राम्रो बचन प्रयोग गर्न जनकपुरधाम उपमहानगरपालिका सुचना जारी गरेको छ ।
सप्ताहव्यापी विवाह पञ्चमीको विशेषता
सप्ताह व्यापी रुपमा मनाइने महोत्सवको पहिलो दिन जनकपुरधाम नगर दर्शन, र दोस्रो दिन फुलवारी लिला हुन्छ । नगर दर्शनमा माता जानकीलाई नगर दर्शन गराउने गरिन्छ । नगरदर्शनका क्रममा राम र जानकीको रूप धारण गरेकालाई जानकी मन्दिरको प्राङ्गनमा राख्ने गरिन्छ । यसका साथै रामायणका अरु पात्रहरू पनि नगर दर्शनमा सहभागी हुने गर्छन् । यो कार्यक्रममा राम, सीतासहित रामायणका पात्रका अगाडि नगरबासीलाई उपस्थित गराउने परम्परा रहेको छ । गितगान त मिथिलाको विवाहमा हुनै पर्दछ ।
त्यसै गरि दोस्रो दिन राम र सीतालाई एकान्तमा भेटघाट गराइने कार्यक्रमलाई फूलबारी लिला भन्ने गरिएको हो । राम र सीताबीच पहिलो पटक बगैंचामा भेटघाट भएको पौराणिक कथाका आधारमा फूलवारी लिला कार्यक्रम गर्ने प्रचलन छ । यस्मा पनि स्थानिय मिथिलानीहरुको भब्य सहभागिता हुन्छ । महोत्सवको तेश्रो दिन धनुषयज्ञ आयोजन हुन्छ ।
त्रेता यूगमा तत्कालिन मिथिलाका राजा शिरध्वज जनकको प्रतिज्ञा अनुसार राजा जनक आफनो दरबारमा रहेको पिनाक नामक धनुषमा प्रत्यञ्चा चढाउने विर राजकुमारसंग मात्र आफनी छोरीको विवाह गर्ने उद्घोष गरेकाले छोरी सीताका लागि एक विर योद्वा राजकुमार चयन गर्न राजर्षि राजा जनकले आयोजना गरेको धनुषयज्ञमा सहभागी भएका अयोध्याका राजकुमार श्रीराम प्रत्यञ्चा चढाउन सफल भएको र सो धनुष तीन टुकड़ा भएको जनविश्वास छ ।
चौथो दिन तिलकोत्सव हुन्छ । जानकी मन्दिरवाट सैयौं पकवान र फलफुल सहितको उपहारको भार (पाहुर) लिएर जानकी पक्ष राम मन्दिर पुग्छन् र त्याहाँ मिथिला विवाहको परम्परागत हँसीठट्यौलीका गित सहित हजारौं दर्शनालु समक्ष राम मन्दिर र जानकी मन्दिरका महन्थद्वय सम्धीका रुपमा सम्धीमिलान गर्छन ।
पाँचौ दिनको विधी मटकोरमा जानकी मन्दिर प्राङ्गणमा वैवाहिक कार्यक्रमका लागि बनाइने विवाह मण्डप र वेदी निर्माणका लागि माटो खन्न जानकी पक्ष एतिहाँसिक बाह्रबिघ्घा रंगभुमि मैदानमा पुग्छन् । सिताको स्वरुप सहित बैण्डवाजा गाजाका साध साधुसन्त र मिथिलानीहरुको हुल नाचगान सहित माटो खनेर ल्याउँछन् । छैठौ दिन शुभविवाह अर्थात विवाहपञ्चमीका दिन आज बाह्रबिघ्घा रंग भुमिमैदानमा भगवान श्री राम र माता जानकीको मन्दिरबाट डोलामा प्रतिमा ल्याएर भब्यता पुर्व स्वयंवर भएको छ ।
दउँसो भएको स्वंयवरमा लाखौंको सहभागिता हुन्छ । स्वयंवर पछि दुवै डोलालाई नगर परिक्रमा गराईन्छ सो क्रममा घर घरवाट स्थानिय सडकमा निस्केर रामजानकी सवार डोलामा पुष्प अर्पण गर्ने गर्छन । आजै अवेर रातीसम्म जानकी मन्दिर प्राङ्गणमा बनाइएको बेदीमा वैवाहिक विधी र कार्यक्रम सम्पन्न हुन्छ भने सातौ दिन राम कलेवाको आयोजना गरि महोत्सवको समापन हुन्छ ।
रामकलेवामा जन्ती आएका साधुसन्त र भारतिय पर्यटकलाई भोजन, दक्षिणा र सम्मान सहित बिदाई गरिन्छ । यस महोत्सवमा मिथिलानीहरु आफनी छोरीको विवाह सरहनै सहभागि हुन्छन जन्ती र बेहुवाको स्वागतमा गितगान र रमझम गर्छन भने विदाईमा धुरुधुरु रुने कारुणिक दृश्य मनमोहक हुन्छ ।
७२ कुन्टल अनाजले बनाइयो रामजानकीको प्रतिमा थप आकर्षण
यस वर्षको विवाह पञ्चमी महामहोत्सवको थप आकर्षणको केन्द्र बनेको छ ७२ कुन्टल अन्न अनाजले बनाइएको सीतारामको प्रतिमा । बाह्र बिघ्घा रंगभुमि मैदानै करिव चार कठ्ठा जग्गामा रातो कार्पेट ओछयाएर विभिन्न प्रकारको दाल, चामल गरि कुल ११ प्रकारको अन्न अनाजबाट बनाइएको यो प्रतिमा हेर्न भिडभाड लाग्ने गरेको छ ।
करिव २२ लाखको लागतमा ११ हजार ११ क्वायरफिट आकारको सो प्रतिमा भारत मध्य प्रदेशका कलाकार सतिश गुर्जर सहितको टिमले बनाएको र प्रतिमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा जाने दावी गरिएको छ । राजर्षि राजा जनक र बिश्वामित्रलाई दुवै छेउमा राखेर रामजानकीको स्वयंवर झल्किने सो प्रतिमा यस अघि भारत उत्तर प्रदेशको आयोध्यामा पनि सोहि तरिकावाट १ ह्जार स्कवायर फिटमा बनाइएर गिनिज बुकमा दर्ता भएको खवर जनकपुरधामकी एक छात्रा गुनगुन मिश्रले भारतिय सञ्चार माध्यममा देखेपछि आफना अभिभावकका माध्यमले जनकपुरधामका मेयरलाई आग्रह गरेको र उनी सकारात्मक भएपछि भारतिय कलाकारलाई आग्रह गरि बनाउन लगाइएको छ ।
जनकपुरधाम उद्योग बाणिज्य संघको संयोजकत्वमा एक समिति बनाई सो प्रतिमा बनाइएको हो । अयोध्यामा बनाएका कलाकारले पारिश्रमिक नलिएको पनि बताइएको छ । प्रतिमा माथी टप भिउबाट आकर्षक देखिएको छ ।