एसपी रिपोर्टर
काठमाण्डौं, भदौ १ : जसपा भित्रको ठाकुर समुह नयाँ पार्टी गठन तर्फ लागेका छन् । ठाकुर पक्षका नेता लक्ष्मण लाल कर्णका अनुसार राष्ट्रपतीले अध्यादेश जारी गर्ने वितिकै नयाँ दल दर्ताको प्रक्रियामा लाग्ने र अव कित्ताकाट गरि मधेशका लागि काम हुनेछ ।
कर्णले भने, ‘अव दायाँबायाँ हेर्ने होइन, नयाँ पार्टी खोलेर मधेशको मुद्दा समाएर हिन्ने हो ।’ कर्णले आफूहरु नयाँ पार्टी गठनको गृहकार्यमा जुटेको खुलासा गरेका छन् । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि उनले यस्तो बताएका हुन् । उनले आफूहरु उपेन्द्र यादवसँग मिलेर बस्न नसक्ने अवस्थामा पुगेकोले छिट्टै नयाँ दल दर्ता गरिने जानकारी दिएका हुन् ।
स्रोतका अनुसार कांग्रेस सभापति र प्रधानमन्त्री शेरबहादुर देउवाले ठाकुर समुहलाई पनि दुई जना मन्त्री दिन तयार भएका छन् । देउवा ठाकुर समुहलाई समेत सरकारमा ल्याउने सोच बनाइसकेका छन् । माधव नेपाल समुह समेत सरकारमा आउने लगभग निश्चित भएपछि देउवाले उपेन्द्र समुहलाई अधिकतम चार मन्त्री मात्र दिने तयारी गरेका छन् । ठाकुर पक्ष सरकारमा गए नयाँ चेहरा मात्र मन्त्रीमा पठाएर शिर्षनेताहरु संगठन विस्तारमा लाग्ने योजना बनाइसकिएको एक नेताले बताए ।





