एसपी रिपोर्टर
जनकपुरधाम, माघ २४ :
नेपाली कांग्रेसले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको प्रचार–प्रसारका लागि पहिलोपटक मधेश प्रदेशको राजधानी जनकपुरधामबाट चुनावी आमसभा सुरु गर्ने भएको छ । कांग्रेसले ६ फागुनमा जनकपुरधामस्थित तिरहुतिया गाछीमा पहिलो चुनावी आमसभा आयोजना गर्न लागेको हो ।

मधेश प्रदेश कार्यसम्पादन समितिको बैठकले उक्त आमसभाको मञ्च व्यवस्थापनको जिम्मेवारी योगेन्द्र पञ्जियारलाई तथा प्रचार–प्रसारको जिम्मेवारी सञ्चार विभाग मधेश प्रदेश प्रमुख नितेशकुमार गुप्तालाई दिएको छ ।

त्यसैगरी, आमसभाको समग्र तयारी, व्यवस्थापन तथा संगठनात्मक विषयमा व्यापक छलफल गर्दै सभालाई प्रभावकारी र सफल बनाउन मधेश प्रदेशका सबै ३२ निर्वाचन क्षेत्रबाट आम कार्यकर्ता तथा सर्वसाधारणलाई बोलाउने निर्णय गरिएको छ ।

उक्त आमसभामा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् भने केन्द्रका पदाधिकारीहरूको समेत उपस्थिति रहने मधेश प्रदेश प्रचार–प्रसार विभाग प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए ।