एसपी रिपोर्टर
जनकपुरधाम, माघ २० : श्री रामानन्दीय श्री वैष्णव संघले जगद्गुरु श्री रामानन्दाचार्यको सप्ताहव्यापी जयन्ती महोत्सव जनकपुरधाममा भव्य कार्यक्रमका बिच मनाउदै छ । श्री रामानन्दीय श्री वैष्णव संघ परिवारको आयोजनामा जनकपुरधाम स्थित रामानन्दचोकमा पण्डाल निर्माण गरि दैनिक भक्तमाल कथा, मंगल गान र शोभा यात्रा सहितका विभिन्न कार्यक्रम गरि जयन्ती महोत्सव मनाईरहेको छ ।

माघ १६ गतेदेखि अगामि २२ गतेसम्म दैनिक वेलुकाको समय साध्वी चन्चलाको मुखारबिन्दुबाट श्री रामजानकी कथा सहितको धार्मिक प्रवचन तथा भजनको कार्यक्रम आयोजना गरिएको छ । प्रत्येक दिन दिउंसो २ बजेदेखि साँझ ५ बजेसम्म भक्तमाल कथा वाचनका साथै बेलुका ५ बजेदेखि ६ बजेसम्म बधाई मंगलगान आयोजन गरिएको छ ।

२२ गते जगद्गुरु श्री रामानन्दाचार्यको जन्मोत्सवका दिन नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधिको प्रमुख आतिथ्यमा जयन्ती महोत्सव मनाईने तयारी रहेका संघका अध्यक्ष तथा जानकी मन्दिरका सहायक महन्थ राम रोशन दास बैष्णवले बताए ।

सो दिन बिहान ८ बजेदेखि पूजन, १० बजेदेखि १२ बजेसम्म भक्तमाल कथा, १२ देखि २ बजेसम्म रामानन्दाचार्यको महत्व र उनले दिएको उपदेश बारे जयन्ती सभा र दिउँसो २ बजेदेखि ४ बजेसम्म नगरपरिक्रमा सहितको शोभा यात्रा निकालेर भब्यता पुर्वक जयन्ती महोत्सव मनाईने श्री रामानन्दीय श्री वैष्णव संघका अध्यक्ष दासले जानकारी दिए । सोहि दिन दिउँसो ४ बजेदेखि ६ बजेसम्म मंगल बधाईगान र प्रसाद वितरण गरी जयन्ती महोत्सव सु–सम्पन्न गरिने उनले बताए ।





