एसपी रिपोर्टर
जनकपुरधाम, माघ २३:

कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्रको आयोजनामा १५ दिवसीय कृषक पाठशाला सहजकर्ता तालिम सम्पन्न भएको छ । किसानहरूलाई कृषि पेशामा विषादीको प्रयोग न्युनीकरण गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।
तालिममा मधेस प्रदेशका आठवटै जिल्लाबाट कृषक सहजकर्ताहरूको सहभागिता रहेको थियो । प्रत्येक जिल्लाबाट कृषि ज्ञान केन्द्रले उत्कृष्ट किसान छनोट गरी तालिमका लागि पठाएको थियो । तालिममा १२ जना पुरुष र ११ जना महिला गरी २३ जना किसानहरूको सहभागिता रहेको कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्रका निमित्त प्रमुख रोशन कुमार मेहताले जानकारी दिए ।

तालिम सम्पन्न गरेका किसानहरूले आफ्नो गाउँमा वा विभिन्न संस्थाले आयोजना गर्ने कृषक पाठशालामा सहजकर्ताको रूपमा काम गर्ने उनले बताए । उनीहरूले विषादी न्युनीकरणमा सहयोग गर्ने तथा किसानहरूलाई उत्पादनमूलक कृषि व्यवसायमा संलग्न हुन प्रेरित गर्ने मेहताको भनाइ छ ।
तालिममा सहभागी किसानहरूले आ–आफ्नो गाउँमा गएर १६ हप्ते कृषक पाठशाला सञ्चालन गर्ने योजना रहेको उनले जानकारी दिए । उक्त पाठशालामा मित्र किरा र शत्रु किरा छुट्याउने विधि, साथै वैज्ञानिक तरिकाले विषादी प्रयोग गर्ने विषयमा प्रशिक्षण दिइनेछ ।

तालिमको समापन कार्यक्रममा कृषि विकास निर्देशनालयका प्रमुख जितेन्द्र यादव, कृषि विज्ञ विष्णुकुमार गुप्ता, कृषि विकास निर्देशनालयका बागवानी अधिकृत प्रदीप यादव लगायतको उपस्थिति रहेको थियो ।