एसपी रिपोर्टर
जनकपुरधाम, पुष १४ :
प्रतिकूल मौसममा चिसो र शीत लहरको कहरका बीच जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछीमा सोमबार जसपा नेपालको विरोध सभाको आयोजना भएको थियो । आयोजनास्थलमा नेता कार्यकर्ता र शुभेच्छुकको भिड लागिसकेको थियो। उनीहरू जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सुन्न आएका थिए ।

तर उता समाजिक सञ्जालमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र अशोक राईको जसपामा रहेकी नेतृ रेनु यादव दुबैजनाको फोटो भाइरल भइरहेको थियो । दुवै जनाबीच चुनावमा एक भएर जाने सहमति भएको प्रचारबाजी भयो । रेनु यादवसँग एकता गरेर हतार हतार बल्ल जनकपुरधामको सभामा पुगेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सभालाई सम्बोधन गर्दै आफूहरू चुनावमा गइरहेको र संघीयताको रक्षा तथा संविधान संशोधन मुख्य एजेन्डा हुने पटकपटक दोहोर्याए ।

अध्यक्ष यादवले मधेस आन्दोलनका उपलब्धिहरूको रक्षा गर्न पुन टुटेर होइन आफूहरू जुटेर चुनावमा जान लागेको तर्क राखे । संविधान संशोधन र संघीयताको रक्षालाई अपरिहार्य भनेका अध्यक्ष यादवले उपलब्धि रक्षाका लागि सम्पूर्ण परिवर्तनकारी शक्तिहरूलाई एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

आइतबार राति महन्त ठाकुर नेतृत्वको लोसपा नेपालसँग पनि एकता गरेको यादव आज विरोधसभा पुग्नु अगाडि अशोक राईको नेतृत्वमा रहेको जसपाका मधेसी नेताहरू रेनु यादव र प्रदीप यादवहरूसँग समेत एकता गरेको यादव संविधान संशोधन र प्राप्त उपलब्धिहरूको रक्षाका लागि सम्पूर्ण परिवर्तनकारी शक्तिहरु एक बद्ध हुनुपर्ने र चुनावको सामना गर्नुपर्नेमा जोड दिए ।

विरोध सभामा बोलेका जसपा नेपालका अन्य नेताहरुले पनि पार्टीभन्दा पनि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई ब्युत्याएर त्यसै ब्यानरमा अगाडि बढ्नुपर्ने एउटै चुनाव चिन्हमा मतदानमा जानुपर्ने सुझाव नेतृत्वलाई दिएका छन् । विरोध सभामा सहभागी भएका कार्यकर्ताहरूले पनि सबै मधेस केन्द्रित दलका नेताहरु एकजुट भएर एउटै चुनाव चिन्ह लिएर चुनावमा जानुपर्ने सुझाव दिएका छन् । देशमा देखिएको नयाँ लहरले बहुमत र वैधानिकता पाए संघीयता र प्राप्त उपलब्धिहरू खतरामा पर्न सक्ने भन्दै उनीहरु एकजुट भएर शक्ति आर्जन गर्न र चुनावमा होमिन सुझाव दिएका हुन् ।

महन्त ठाकुर नेतृत्वको लोसपा नेपाल र अशोक राई नेतृत्वको जसपाका मधेसी नेताको समूहसँग रातारात एकता गरेर जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसमा आफ्नो शक्ति अझै यथावत रहेको सन्देश दिन चाहेका छन् । मधेसमा अत्याधिक चिसो र प्रतिकूल मौसमका बीच पनि ठाउँ ठाउँमा विरोध सभा गरेर उनले आफ्नो शक्ति अझै पनि स्खलित नभएको सन्देश दिन चाहेकै हुन् ।