एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २३ :
जेन–जीको आन्दोलनमा भएको चरम सरकारी दमनका कारण १९ जनाले ज्यान गुमाएको घटनाले कांग्रेस र एमालेमा व्यापक प्रभाव पर्ने देखिन्छ । देशकै पुरानो मुख्य दुई ठुला पार्टीहरुको प्रचण्ड बहुमतको सरकारले आन्दोलन आँकलन गर्न नसक्दा भएको समाजिक क्षतिले दुई पार्टीमा पनि प्रभाव पर्न थालेको छ ।

हाल सम्म एमालेका प्रभावशाली युवा नेता विद्यार्थीहरु घटनाबाट आहत हुदै धमाधम पार्टी र त्यसका जिम्मेवारीबाट राजिनामा दिन थालेका छन् । एमाले समर्थित अनेरास्ववियुकी बिदेश मामिला बिभाग प्रमुख स्मृति बराल फेसबुकमा दुःख भरि स्टाटस लेख्दै अव पार्टीका लागि नभई देशका लागि काम गर्ने बताउदै पार्टी परित्यागको घोषणा गरेकी छिन् ।

जेनजी पुस्ताको आन्दोलनलाई चरम दमन गरेको भन्दै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु गण्डकी प्रदेश सहसंयोजक विश्व दर्शन पराजुलीले पार्टी परित्याग गरेका छन् । सहसंयोजक पराजुलीले एमाले नेतृत्वको सरकारले युवासँगै सिंगो राज्य र जनताप्रति घात गरेको भन्दै सामाजिक सञ्जालमार्फत पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

‘…सरकारबाट कुनै लाभ नलिएको म एक कार्यकर्ताले जति दिएँ पार्टीलाई दिएँ । अब देशलाई दिने विचारका साथ आजैको मितिदेखि नेकपा एमालेको पार्टी सदस्यता निष्क्रिय पार्दै अनेरास्ववियुमा रहेको जिम्मेवारीबाट राजीनामा दिएको स्वघोषणा गर्दछु,’ उनले फेसबुकमा लेखेका छन् ।

यति मात्र होइन नेकपा (एमाले) को केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेकी छन् । जेन–जीको प्रदर्शनका क्रममा सरकारले व्यापक दमन गरेर १९ जनाको मृत्यु भएपछि नैतिकताका आधारमा पनि प्रधानमन्त्री पदमा बस्न नमिल्ने उनले बताएकी हुन् ।

‘गृहमन्त्रीले मात्र राजीनामा दिएर हुन्न, प्रधानमन्त्रीले पनि राजीनामा दिनु पर्छ,’ केन्द्रीय सदस्य तिम्सिनाले सामाजिक सञ्जाल फेसबुकमा भनेकी छन्, सेतोपार्टी डटकमले समाचार लेखेका छन् ।