एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ५ :
मिथिलाञ्चलमा आज वट सावित्री अर्थात वरसाइत पर्व मनाइएको छ । पतिको दीर्घायु तथा कुशल दाम्पत्य जीवनको कामना गर्दै मिथिलाञ्चलका मैथिली महिलाहरू मुख्यतः यो पर्व धुमधामका साथ मनाउने गर्छिन ।

https://www.facebook.com/spkhabarnepal/videos/3424949531087889

मैथिली महिलाहरूले मनाउने चाँडमध्ये वट सावित्री एक महान् पर्वकै रूपमा मनाइने गरिन्छ । यो पर्व जेठ महिनाको आमवश्य तिथिका दिन मनाउने गरिन्छ । वट सावित्रिमा महिलाहरूले नयाँ पहिरनमा वर र पिपलको रुखमा सामूहिक रूपमा विधिपूर्वक पूजा अर्चना गर्ने गर्छिन ।

नयाँ फल आँप, पान, सुपारी, केरा, फलफूल, धुप लगायतको विभिन्न पूजन सामग्रीका साथ पूजापाठ गरेर व्रतालु महिलाहरूले श्रीमानको दीर्घायु तथा कुशल दाम्पतीय जीवनको कामना गर्दै वर तथा पिपलको रुखलाई रातो, र पहेलो धागो वेरी पण्डितद्वारा मत्रोचारणका साथ पूजा गर्छन् । बरको रुख घेरेर उनीहरू बृक्षमा विवाहको लगन गाँठोको प्रतिक मंगल धागो वेरेर पूजा आराधना गरी पर्व मनाएका हुन् ।

बरको बृक्षमा जल चढाउने देखि तेल लगाउने, थिचेर सेवा गर्ने र बाँसको पंखा हल्लाउने सहितका विधी गरि पुजापाठ गर्ने यो पर्वको रोनक बृक्षमुनी देख्न सकिन्छ । पौराणिक कथा अनुसार राजा सत्यवानको मृत्यु हुँदा उनकी पत्नी सावित्रीले बरको रुख तल बसेर कठोर ब्रत गरी पतिको प्राण फर्काएउन सफल भएकी थिइन् । यही मान्यताअनुसार महिलाहरूले पतिको दीर्घायुका लागि बट सावित्री पर्व मनाउने गरेको धार्मिक ग्रन्थमा उल्लेख छ ।

महिलाहरु बृक्षको पुजा गरिसकेपछि पतिको खुट्टा पखालेर बाँसले बनेको पंखाले हौकेर शितलता तथा सेवाको भाव दर्शाउदै आँप सहितको फल प्रसादको रुपमा प्रदान गर्छिन । यस पर्वमा माता पार्वती, सावित्री र नागको पनि पूजा गरिन्छ र कथा सुन्ने तथा पढने गरिन्छ ।

सुरुसुरुमा ब्राह्मण, कायस्थ र देव सहित सिमित जातजातिका महिलाले मात्र मनाउने यो बरसाइत पूजा अहिले अन्य जातिका महिलाहरुले समेत मनाउन थालेपछि शहर बजार देखि ग्रामिण क्षेत्रको बर पिपल बृक्षमुनी समेत ब्रतालुहरुको भिड अव लाग्ने गरेको छ ।