एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ५ : मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले धनुषा र महोतरीको सांसद बाहेक कुनै पनि सांसद जनकपुरधाम राजधानी हुनुपर्ने पक्षमा नरहेको स्मरण गराएका छन् । मधेस प्रदेशको राजधानी जनकपुरधाममा पहिलो पटक सुरु भएको भनिएको अन्तर्राष्ट्रिय स्तरको वृहत व्यापारिक मेला जनकपुरधाम ट्रेड एक्सपो २०२३ को समुदघान गर्दै मुख्यमन्त्री यादवले जनकपुरधाममा घरभाडा, सरसमान, होटल, खाजा र खाना पनि धेरै महङ्गो भएको भन्दै जनकपुरधाम राजधानी उचित नभएको भन्दै सांसदहरु बिच लडाई नै हुने गरेको खुलाएका छन् ।
छेउकै भिठ्ठामोड बजारमा ग्राहकहरुको भिड रहने गरेको भएपनि जनकपुरधामको बजार किन सुस्त र ग्र्राहकको प्राथमिकतामा घटदै गएको छ ? उनको प्रश्न छ । उनले यस विषयमा व्यापारीहरुले पनि समिक्षा गर्नुपर्ने र गल्ती सुधार गर्नुपर्ने बताए । आफु सभामुखको रुपमा जनकपुरधामलाई राजधानी बनाउन अग्रसरता लिएको दावी गर्दै उनले व्यापारी नसुध्रे कारवाही गर्ने सम्म बताए ।

प्रतिनिधीसभा सदस्य जुली कुमारी महतोले अर्थ तन्त्र धरासयी भइरहेको हल्लाका बिच जनकपुरधाममा आर्थिक गतिविधी र मेला नै आयोजना हुनु शाहासिक रहेको भन्दै प्रशंसा गरेकि छिन् । शुक्रवार देखि जनकपुरधामको तिरहुतिया गाछीमा सुरु भएको मेला फागुन १४ गते सम्म चल्ने छ । एक्सपो अन्तर्राष्ट्रिय स्तरको व्यापार मेला रहेको आयोजक जनकपुरधाम उद्योग बाणिज्य संघ र सह आयोजक सिया ईभेन्टको दावी छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारी तथा प्रतिष्ठानहरूलाई एउटै छानामुनि सहभागि गराई व्यापारिक अनुभव आदान प्रदान तथा नयाँ आयाम एवं सम्भाव्यता खोज्ने उद्देश्यले एक्सपोको आयोजना गरिएको बताइएको छ । मेलामा स्वदेशी तथा स्थानिय उत्पादनलाई प्रवर्द्धन गर्ने प्रमुख उद्देश्य लगायत सार्क राष्ट्रहरू भारत, पाकिस्तान र बंगलादेशका विभिन्न क्षेत्रका व्यापारीहरूको पनि सहभागिता रहने आयोजक जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिए ।

जनकपुरधामका मेयर मनोज कुमार साह, पुर्व मेयर बजरंग प्रसाद साह सहितकाले जनकपुरधामको व्यापार र आर्थिक योगदानको चर्चा परिचर्चा गरेका थिए । कार्यक्रमका प्रदेश सरकारका मन्त्रीहरु सहित उद्योग व्यवसायीहरु, समाजिक अगुवाहरुको उपस्थिती थियो ।





