एसपी रिपोर्टर
अष्ट्रेलिया, जेष्ठ ९ : नेपालमा महासंकटको रुपमा फैलिएको विश्वव्यापी महामारी कोभिड–१९ को नियन्त्रणका लागि अष्ट्रेलियाको राजधानी क्यानबेरा स्थित नेपालीहरुले मंगलमय शान्ति पुजाको आयोजना गरेको छ । क्यानबेराको फ्लोरी स्थित हिन्दु मन्दिरमा भएको शान्ति पुजामा कोभिड–१९ को कारण ज्यान गुमाएका समस्त नेपालीहरुको आत्माको चिरशान्तिको लागि प्राथना समेत गरिएको छ ।
पुजाको आयोजना गैर–आवासिय नेपाली संघ–क्यानबेरा, अष्ट्रेलिया–नेपाल फ्रेन्डसिप सोसाईटि र सनातन समाज अष्ट्रेलियाले संयुक्त रुपमा गरेको हो । नेपाली राष्ट्रिय गानबाट सुरू गरिएको प्रार्थना सभामा मन्दिरका पुजारीबाट स्वस्ति वाचन र भक्तमण्डलीहरुबाट भजन श्रवण गराईएको थियो ।

उक्त समारोहमा एनआरएनए–क्यानबेराका संयोजक चुडामणि सापकोटा, उपसंयोजक अशोक वस्नेत, आइसीसी सदस्य राजु अधिकारी, एनसीसी सदस्य ललित मल्ल, सल्लाहकार डा. कृष्ण हमाल, राजन ढुंगेल तथा एनएफएसका अध्यक्ष आदर्श जंग पाण्डे, पूर्व अध्यक्ष द्वय खुष्वु न्यौपाने, जिवन राणा र सनातन समाजका अध्यक्ष सन्तोष मल्ल, नेपाली कला संस्कृतका अध्यक्ष दीपक हमालका अतिरिक्त क्यानबेरा नेपाली समुदायका अग्रजहरू तथा सर्वसाधारणहरूको उल्लेख्य उपस्थित थियो ।
‘नेपाल’ देखिने दियोहरू प्रज्वलन गरि शोक मनाईएको सो कार्यक्रममा एनआरएनएए–क्यानबेरा, एनएफएस र सनातन समाजका त्रय अध्यक्षहरूले नेपाललाई यस महामारीको चपेटबाट मुक्त गराउन परदेशमा रहेका सम्पूर्ण नेपाली समुदायको सहयोगको विशेष खाचो र आबश्यकता भएकाले दिल खोलेर सक्दो सहयोग गर्न आग्रह गरेका थिए ।
सो अवसरमा सनातन समाजले राखेको कोभिड राहत कोषको दान बाक्समा भक्तजनहरूबाट करिव अष्ट्रेलियन डलर ३२५ नगद जम्मा भएको र सो रकम एनआरएनएए–क्यानबेरा मार्फत नेपाल पठाईने जानकारी सनातन समाजका अध्यक्ष सन्तोष मल्लले दिए । नेपालमा अक्सिजनको अभाव परिपुर्तिमा सहयोग गर्न अष्ट्रेलिया–नेपाल फ्रेन्डसिप सोसाईटिले आउदो बुधवार साझ च्यारिटि डिनरको पनि आयोजना गरेको अष्ट्रेलिया स्थित एसपी खवरका श्भेच्छुक प्रभाकर साहले बताए ।





