एसपी रिपोर्टर
काठमाणडौँ, साउन ३
: आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले दुई तिहाईको शक्तिशाली सरकारले काठमाडौंमै व्यवसायीहरुको सुरक्षा गर्न नसकेको बताएका छन् ।

काठमाडौंको कोटेश्वरमा बसेको कबाड व्यवसायीको बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले काठमाडौंका व्यवसायीलाई सुरक्षा दिन नसकेको बताए ।‘काठमाडौंमा व्यवसायीहरू असुरक्षित हुँदै गइरहेका छन् । यो दुई तिहाईको शक्तिशाली सरकारले सुरक्षा दिन सकेको छैन् । अदालतको आदेशविपरीत काठमाडौं महानगरले कबाड व्यवसायीको कबाडमा डोजर आतंक मचाएको छ । तर, सरकारले ति व्यवसायीलाई सुरक्षा दिन असफल भइसकेको छ’, आजपा अध्यक्ष साहले भने, ‘सरकार त दुई तिहाई बहुमतको शक्तिशाली छ । तर काम बिचौलिया र दलालको मात्रै गरिरहेको छ । यहाँका व्यवसायीलाई सुरक्षा दिनुपर्ने सरकार टुलटुलु बसेर हेर्न मिल्छ ?’अदालतको आदेश विपरीत काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा काठमाडौंमा कबाड व्यवसायीको कबाडमा डोजर आतंक चलिरहेको उनले बताए ।दुई तिहाईको शक्तिशाली भनिए पनि वर्तमान सरकार झोले सरकार भएको टिप्पणी गर्दै आफ्नो परिवार, व्यवसायको सुरक्षाका लागि अब महानगरको गुण्डागर्दीविरुद्ध प्रतिकारमा उत्रिनुको विकल्प नभएको उनले बताए ।‘अदालतको आदेश छ कबाड व्यवसायलाई नहटाउ तर यहाँ अदालतको आदेश पालना हुँदैन् । सरकारले सुरक्षा दिंदैन । महानगरले डोजर आतंक मचाएको छ । यस्तो अवस्थामा तपाईंहरू आफ्नो परिवार, पेस व्यवसायको सुरक्षाका लागि अब प्रतिकारमा उत्रिनै पर्छ । महानगरको गुण्डागर्दी सहेर बस्न सकिदैन्’, आजपा अध्यक्ष साहले भने ।