एसपी रिपोर्टर
काठमाण्डौं, असोज ३ : घरेलु टोली नेपाललाई ३–१ गोल अन्तरले हराउँदै बंगलादेश छैठौं संस्करणको साफ महिला च्याम्पियन भएको छ । यससँगै साफ महिला इतिहासमा बंगलादेश नयाँ च्याम्पियन बनेको छ । यसअघिका पाँचै संस्करणमा भारतले उपाधि जितेको थियो ।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालमा भएको प्रतिस्पर्धामा नेपालले पहिलो हाफमा दुई गोल खाँदा दोस्रो हाफमा एक गोल गर्न र एक गोल खान पुगेको थियो । बंगलादेशले च्याम्पियनसिपमा नयाँ इतिहास लेख्न सफल भएको हो । यस अघिका प्रतिस्पर्धामा स्पष्ट जित निकाल्दै आएको बंगलादेशले फाइनलमा नेपालमा हराउन सफल भएको हो ।

साफ इतिहासमा बंगलादेशसँग कहिल्यै नहारेको नेपालले सोमबार भने त्यो इतिहास दोहोर्याउन असफल रह्यो । यससँगै नेपाल पाँचौ पटक फाइनलमा पराजित भएको छ । यसअघि च्याम्पियनसिपको चौथो संस्करणबाहेक सबै संस्करणको फाइनलमा भारतसँग पराजित भएको थियो । सात देशको सहभागिता रहेको प्रतियोगितामा साविक विजेता भारत नेपाल सँग पराजित भएको थियो । नेपाललाई यस अघि फाइनलमा रोक्ने गरेका भारतलाई यसपालि नेपालले हराउन सफल भएपनि बंगलादेश उदयमान भएर आएपछि नेपाल उपबिजेतामै सिमित भएको छ ।
उता बंगलादेशले भने पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको भुटानमाथि रवाफिलो जित निकाल्दै अन्तिम दुईमा स्थान पक्का गरेको थियो । जारी प्रतियोगितामा बंगलादेशले कुल २३ गोल गर्दा एक गोल खान पुग्यो । नेपाललेमा भने १२ गोल गर्दा तीन गोल खान पुग्यो ।





