एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख २६ :
मधेसका गृह संचार तथा कानून मन्त्री राजकुमार लेखीले संघ सरकारले कानून निर्माणमा ढिलाई गरिरहेकाले प्रदेशमा कानून कार्यान्वयनमा समस्या देखिएको बताएका छन् ।
कानून दिवसको अवसरमा गृह संचार तथा कानून मन्त्रालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखीले संघ सरकारले कानून निर्माणमा तदारुकता नदेखाए प्रदेशहरुमा कानून कार्यान्वयनमा समस्या रही रह्ने बताए । उनले संघ सरकारलाई कानून निर्माणमा ढिलाई नगर्न आग्रह समेत गरे ।
मधेस सरकारले कम समयमै आवश्यक कानून निर्माणको दिशामा धेरै काम गरेको दावी गर्दै मन्त्री लेखीले सो को कार्यान्वयनमा जटिलता देखिएकोप्रति चिन्ता व्यक्त गरे । यो समस्या समाधान गर्नका लागि गृह संचार तथा कानून मन्त्रालयले विभिन्न क्षेत्रका सम्बन्धित व्यक्तिसंग छलफल तथा सम्वादलाई अगाडी बढाएको जानकारी दिए । उनले संविधानको पालन तथा ऐन कानूनको पालन तीनै तहका सरकार प्रमुख, राज्यका हरेका निकायमा प्रतिनिधित्व गर्नेहरुले गर्ने तर्फ ध्यान दिन आग्रह गरे ।
कार्यक्रममा गृह संचार तथा राज्य मन्त्री शारदा थापाले जनताले हामी प्रदेससभा सदस्यहरुको भूमिकाका विषयमा स्पष्ट नरहेको बताइन् । उनले भनिन् ‘जनता हामीबाट विकास निर्माणका कामहरुको मात्रै अपेक्षा गरिरहेका छन्, जबकि कानून निर्माणको दायित्व समेत हामीहरुकै काँधमा रहेको छ ।’ उनले जनताहरुको विचमा हामीहरुको भूमिका स्पष्ट पार्नु आवश्यक रहेको र यसका लागि आम सर्वसाधारणहरुकै बिचमा छलफल हुनु आवश्यक रहेको बताइन् ।
उच्च अदालत जनकपुरका मुख्य न्यायधिश श्रीकान्त पौडेलले मधेसमा कानूनहरु निर्माण भएपनि जनताहरुका बिचमा सो को जानकारी नहुनु चिन्ताको विषय रहेको बताए । उनले कानून निर्माण मात्र नभई सो को प्रचार प्रसार तथा जनता समक्ष सहज ढंगले पुर्याउने जिम्मा सम्बन्धित निकायकै रहेको बताए । यसका साथै मुख्य न्यायधिश पौडेलले कानून निर्माण, कानून कार्यान्यवन तथा न्याय सम्पादनका विषयमा समय समयमा छलफल हुनु आवश्यक रहेको बताए ।