एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ५ :
मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि आलोपालो गर्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ दलका शीर्ष नेताहरूको बैठकले मधेस प्रदेशमा आलोपालो सरकारको नेतृत्व गर्ने निर्णय गरेको हो । बैठकमा मधेस प्रदेशका नेताहरूसमेत सहभागी थिए ।

आफूहरू सरकारमा सहभागी हुने र सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको नेपाली कांग्रेस मधेस प्रदेशका सभापति एवं संसदीय दलका नेता कृष्णप्रसाद यादवले बताए । बालुवाटारको सहमतिसँगै अब नेपाली कांग्रेस, लोसपा र नेकपा (एकीकृत समाजवादी) समेत सरकारमा सहभागी हुनेछन् ।

‘मधेस प्रदेशमा सरकारको नेतृत्व आलोपालो गर्ने र तत्काल यही सरकार रहने भन्ने भएको छ । कस्को कार्यकाल कति समय सम्म भन्ने बारे गठबन्धनले निर्णय गर्छ,’ यादवले भने, ‘अर्को कार्यकालको नेतृत्व पनि कुन पार्टीले गर्ने भन्ने विषयको पनि पछि मात्र छलफल हुन्छ ।’

त्यसैगरि गठबन्धन घटक भएर पनि जसपा विरुद्व निरन्तर मधेशमा सक्रिय जनमत पार्टीलाई पनि सरकारमै राख्ने सहमति भएको बताइएको छ ।