एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २२:
रसुवामा गएको विनाशकारी बाढीपहिरोमा परी ज्यान गुमाएकाहरूको सम्झनामा जनकपुर आलु–प्याज व्यवसायी संघले दीप प्रज्वलनसहित श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ।
बाढीपहिरोमा ज्यान गुमाएकाहरूको १३औँ दिनको पुण्यतिथिको अवसरमा जनकपुरधामस्थित पेठिया बजारमा आयोजित कार्यक्रममा व्यवसायीहरूले दीप प्रज्वलन गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्।
कार्यक्रममा मृतकहरूको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको थियो। साथै, विपद्बाट प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै उनीहरूको दुःखमा साथ दिन आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।
संघका अध्यक्ष सुरज साहले विपद्मा ज्यान गुमाएकाहरूको सम्झना तथा प्रभावित परिवारप्रति एकताको सन्देश दिन कार्यक्रम आयोजना गरिएको बताए। उनले पीडित परिवारको दुःखमा साथ दिन सबै पक्षको सहयोग र सहकार्य आवश्यक रहेको उल्लेख गरे।





