एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २२:
रसुवामा गएको विनाशकारी बाढी तथा पहिरोमा परी ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा गणेश युवा कमिटीले दीप प्रज्वलनसहित श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ।
बाढीपहिरोमा परी असामयिक निधन भएका व्यक्तिहरूको १३औँ दिनको पुण्यतिथिको अवसरमा कमिटीले दीप प्रज्वलन गर्दै मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको हो।
कार्यक्रममा सहभागीहरूले मृतकहरूको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका थिए। विपद्का कारण आफन्त गुमाएका परिवारको पीडामा ऐक्यबद्धता जनाउँदै उनीहरूको दुःखमा समाजका सबै पक्षले साथ दिनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।
दीप प्रज्वलनका क्रममा सहभागीहरूले विपद्मा ज्यान गुमाएका सबैप्रति सम्मान व्यक्त गर्दै प्रभावित परिवारको पीडा कम गर्न राज्य तथा समाजका सबै पक्षबाट सहयोग, सहकार्य र मानवीय संवेदना निरन्तर आवश्यक रहेको बताएका थिए।
श्रद्धाञ्जली कार्यक्रममा मधेस प्रदेशसभाका सभामुख रामअशिष यादव, गणेश युवा कमिटीका अध्यक्ष रामसोगारथ साह ‘पप्पु’, संस्थापक अध्यक्ष सरोज कुमार साह तथा पूर्व अध्यक्षहरू सुरेन्द्र भण्डारी, दीपक भगत, भोला भण्डारी र सुनिल लाल दासलगायतको उपस्थिति रहेको थियो।