एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १२ :
अमेरिकी दातृ निकाय युएसएडको मधेश प्रदेशमा नागरिक समाज र सञ्चार कार्यक्रम (सीएसएम) को जनकपुरधामवाट शुभारम्भ भएको छ । मधेश प्रदेश सरकारकी मन्त्री सुरिता कुमारी साह र अन्तराष्ट्रिय विकास नियोग युएसएड नेपालका निमित्त निर्देशक क्यारेन वेल्चद्वारा सामुहिक रुपमा कार्यक्रमको शुभारम्भ भएको छ ।

युएसएडको १ करोड ८५ लाख अमेरिकी डलर सहयोगमा सञ्चालित यो कार्यक्रम द एसिया फाउन्डेशनद्वारा मधेश र लुम्बनी प्रदेशमा कार्यान्वयन हुने बताइएको छ । सो अवसरमा युएसएड नेपालका निमित्त निर्देशक क्यारेन वेल्चले नेपालमा विद्यमान लोकतन्त्रलाई शुदृढगरि लोकतन्त्रको मुल उद्देश्य सबै वर्ग र समुदायको अधिकार र पहुँच अभिवृद्विका लागि नागरिक समाज र सञ्चार माध्यमको सहयोगबाट कार्यक्रम सार्थक हुने उद्देश्यका साथ कार्यक्रम ल्याइएको बताइन् ।

कार्यक्रमकी प्रमुख अतिथि मधेश सरकारकी मन्त्री साहले सांस्कृतीक विविधताले भरिएको मधेश प्रदेशको खास गरि ग्रामिण क्षेत्रमा सीमान्कृत समुदाय र मिडियाको क्षमता अभिवृद्विको काम निकै चुनौती पुर्ण रहेको भन्दै यो कार्यक्रम सफल भए मधेशको स्मृद्वि सहज हुने बताइन् ।

द एसिया फाउन्डेशनकी नेपाल प्रतिनिधी मेगन नाल्बोले स्थानिय स्तरमा कार्यरत संस्थाहरु संग आत्मनिर्भर एवं उत्थानशील समुदायको विकास गर्ने र स्थानिय सरकार संग समन्वय एवं साझेदारी गर्दै समुदायको समस्या समाधान गर्ने क्षमता यस कार्यक्रमले आर्जन हुने विश्वास व्यक्त गरिन ।

कार्यक्रममा सीमान्कृत समुदायको विद्यमान अवस्था, मिडियाको मुद्दा उठान सहितको विषय समेटेर मिनापका कलाकारहरुले नाटक मञ्चन गरेका थिए । सो अवसरमा कार्यक्रम अन्तर्गत फेलोशिप पाएकी तिनजना रौतहट, महोतरी र धनुषाकी पत्रकारहरुलाई सम्मान गरिएको थियो ।

सो अवसरमा नागरिक समाजको तर्फबाट महिला, मानवअधिकार एवं दलित अधिकारकर्मी अगुवा देव कुमारी महराले सीमान्तकृत समुदायका महिला र किशोरीहरुको पिडा सुनाएकी थिइन भने सञ्चारको तर्फबाट नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य रिंकु कुमारी मिश्र र पत्रकार जगदिश शर्माले सञ्चार क्षेत्रको अवस्था, चुनौती, मुद्दा उठान लगायत सान्दर्भिक विषयमा आ आफनो धारणा राखेकी थिइन ।