एसपी रिपोर्टर
जनकपुरधाम, माघ १६ :
कमला बचाउ अभियानले धनुषा–सिरहाको सिमा एतिहाँसिक कमला नदीमा महाकमला आरतीको आयोजन गरि प्रचार प्रसारलाई विस्तार गरिरहेको छ । अभियानद्वारा प्रत्येक पुर्णिमाको दिन शहिदनगर वडा नं. १ बालाबाखर स्थित कुम्भरामघाटमा महाकमला आरतीको आयोजना गरिरहेको छ । सोहि क्रममा विहिवार प्रदेश २ का भौतीक पुर्वाधार मन्त्री जितेन्द्र सोनल समेत आरतीमा सहभागी भएका छन् ।

https://www.facebook.com/udaybarbariya/videos/2056910824616036

मन्त्री सोनलले तेस्रो कमला महाआरतीमा जल सँकल्प लिँदै कमला बचाउ अभियानको लागि चालिएको कदमको सराहना गर्दै स्थानीय सरकार र अभियानीहरुले देखाएको अग्रसरताको प्रशंसा गरेका छन् । उनले कमला बचाउ अभियानको लागि प्रदेश सरकारदेखि लिएर केन्द्र सरकारसम्मलाई ध्यानाकर्षण गराउने प्रतिवद्धता व्यक्त गरे । उनले धार्मिक र पौराणिक इतिहास बोकेको कमला नदीको अस्तित्व संरक्षण आवश्यक रहेको बताए ।

धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाको परिकल्पना र अठोटले नगरपालिकाको वडा नं. १ रामघाटमा प्रत्येक महिना पूर्णिमाको दिन महाकमला आरती हुँदै आएको छ । मेयर बरबरियाले कमला बचाउ अभियानलाई छिमेकी मुलुक सम्म विस्तार गर्नुपर्ने बताएका छन् । विहिबार तेस्रो महाकमला स्नान र कमला आरतीको क्रममा बोल्दै मेयर बरबरियाले व्यक्ति व्यक्तिबाट प्रारम्भ गरिएको कमला बचाउ अभियान स्थानीय तह हुँदै प्रदेश सरकार सम्म गएको भन्दै अन्तराष्ट्रिय अभियानको रुपमा जोडनुपर्ने धारणा राखे ।

ऐतहिासिक मानिएको कमला नदी धनुषा जिल्ला सहित छिमेकी राष्ट्र भारतको विहारसम्म समेत पुगेको भन्दै उनले सिँगो नदीको अस्तित्व बचाउनको लागि भारतसम्मै अभियानलाई जोडनुपर्ने उनको कथन थियो । उनले भने, –‘यहाँ धनुषाका ५ स्थानीय तह र सिरहाका ४ स्थानीय तह गरी कुल ९ स्थानीय तहले मात्र सहयोग गरे कमला बचाउ अभियानले नयाँ उचाई पाउने निश्चित छ, तर शहिदनगर नगरपालिका र सिरहा नगरपालिकाले मात्र अहिलेसम्म अग्रसरता देखाएको छ । अन्य स्थानीय तहले समेत चासो लिए अभियान तीव्रता पाउनेछ ।’

कमला महाआरतीमा जनता समाजवादी पार्टीका सचेतक एवम् प्रदेश सांसद परमेश्वर साह, समाजसेवी प्रभु दयाल जलान, अभियानीहरु बीरेन्द्र यादव, सुरेन्द्र यादव, राजकिशोर सल्हैता, श्याम महतो लगायत साधुसन्तहरुको सहभागीता रहेको थियो ।