एसपी रिपोर्टर
जनकपुरधाम, असार २६ :
नेपाली सेनाको श्री विष्णुदल गणले आज धनुषा जिल्लाको सबैला नगरपालिका–९ स्थित श्री रामजानकी नमुना माध्यमिक विद्यालयमा विपद् व्यवस्थापन, सर्पदंश तथा विस्फोटक पदार्थबाट बचाउ सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

श्री नं. २७ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी नारायणबहादुर थापाज्युको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावकहरुलाई विपद् व्यवस्थापन, सर्पदंश तथा विस्फोटक पदार्थहरूको पहिचान तथा हाईलाइन रेस्क्यु सम्बन्धी कक्षा एवं डेमोन्स्ट्रेशन सञ्चालन गरिएको थियो ।

सो अवसरमा नेपाली सेनाले विद्यालयका विद्यार्थीहरूलाई स्टेशनरी सामग्री तथा विद्यालयलाई भलिबल, फुटबल, क्रिकेट र चेसलगायत विभिन्न खेलकुद सामग्री हस्तान्तरण गरेको थियो । कार्यक्रममा सबैला नगरपालिकाका प्रमुख कारीराम यादव, वडा नं. ९ का वडा अध्यक्ष मनिष कुमार राय, जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, विद्यार्थी, स्थानीय बुद्धिजीवी तथा सर्वसाधारण गरी करिब १,५५० जनाको सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सहायक रथी थापाले नेपाली सेना नागरिकको सुरक्षा र सेवामा सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै यस्ता जनहितमुखी कार्यक्रमले नागरिक–सैनिक सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे। नगरप्रमुख कारीराम यादवले नेपाली सेनाले सञ्चालन गर्दै आएका यस्ता सामाजिक तथा जनहितमुखी कार्यक्रमको प्रशंसा गर्दै आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रममा विपद् व्यवस्थापनसँग सम्बन्धित विभिन्न सामग्रीको प्रदर्शनी तथा हाईलाइन रेस्क्युको प्रत्यक्ष प्रदर्शनसमेत गरिएको थियो । सो अवसरमा नेपाली सेना श्री विष्णु दल गणका गणपति खिलेन्द्रराज अमगाई सहितक उपस्थिति रहेको थियो ।