एसपी रिपोर्टर
जनकपुरधाम, असार १५: जनकपुरधाम स्थित संस्कृति विद्या मन्दिर स्कुलले आफ्ना विद्यार्थीहरूमा नेतृत्व जिम्मेवारीको अभ्यासलाई निरन्तरता दिएको छ। दोस्रो वर्षमा पाइला टेकेको हाल कक्षा ९ सम्म पढाइरहेको यस विद्यालयले एक समारोहका बीच गत वार्षिक परीक्षामा आफ्ना विभिन्न कक्षाका उत्कृष्ट छात्र/छात्रालाई पुरस्कृत गर्नुका साथै ९ कक्षा सम्मका कक्षाको नेतृत्व पाएका छात्र/छात्रालाई पुरस्कृत गरेको छ।
कक्षाको हेड ब्वाय, हेड गर्ल र क्याप्टेनमा लोकतान्त्रिक विधिबाट निर्वाचित छात्र/छात्राहरूलाई सोको ब्याच र ट्याग लगाएर समेत सम्मानित गर्दै नेतृत्व हस्तान्तरण गरेको स्कुलले आधुनिक परिप्रेक्ष्यमा बच्चाहरूलाई जिम्मेवार बनाएर भविष्यका लागि तयार गर्न यस्ता क्रियाकलापलाई निरन्तरता दिएको सञ्चालक डा. अनिल अग्रवालले बताए।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेलले छात्र/छात्राहरूलाई नेतृत्व हस्तान्तरण गर्दै स्कुलको कदम सकारात्मक रहेको बताए। राजनीतिमा पनि युवा र अझ जेनजी किशोरहरूको पनि सहभागिता हुन थालेको बताउँदै उनले स्कुलको गतिविधिले स्कूली जीवनबाटै विद्यार्थी जिम्मेवार र अनुशासित हुन सिक्ने वातावरण बनाएको बताए।
सो अवसरमा जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत गणेश मिश्र, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साह, स्कुलकी अध्यक्ष रचना अग्रवाल सहित अभिभावक र विद्यार्थीहरूको उपस्थिति थियो।





