एसपी रिपोर्टर
जनकपुरधाम, चैत ४ :
देशको वास्तविक आर्थिक अवस्थाको यथार्थ तथ्याङ्क संकलन गर्ने उद्देश्यले नेपाल सरकारले सञ्चालन गर्न लागेको आर्थिक गणनाअन्तर्गत धनुषा जिल्लामा वैशाख २ गतेदेखि गणना कार्य सुरु हुने भएको छ।
जिल्ला आर्थिक गणना समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलको अध्यक्षतामा बसेको बैठकले गणनालाई प्रभावकारी र सफल बनाउन सबै सरोकारवाला निकायले समन्वय र सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
बैठकमा प्रमुख जिल्ला अधिकारी लुइँटेलले आर्थिक गणनाका लागि खटिने गणकहरूलाई सही र यथार्थ विवरण उपलब्ध गराउन सर्वसाधारण तथा व्यवसायीलाई आग्रह गरे। उनले तथ्याङ्क ऐनअनुसार सङ्कलन गरिने व्यक्तिगत तथा आर्थिक विवरण पूर्ण रूपमा गोप्य रहने कानुनी व्यवस्था भएकाले ढुक्क भएर तथ्याङ्क उपलब्ध गराउन आग्रह गरे।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले गणनालाई सफल बनाउन संघको तर्फबाट पूर्ण सहयोग रहने बताए। त्यस्तै, सुनचाँदी व्यवसायी संघका अध्यक्ष पवन ठाकुरले यथार्थ विवरण संकलनका लागि व्यवसायीहरूलाई विश्वासमा लिनुपर्ने आवश्यकता औंल्याए।
जिल्ला आर्थिक गणना अधिकारी श्रीनारायण महतोका अनुसार धनुषामा आर्थिक गणनाका लागि ७८ जना गणक र ११ जना सुपरभाइजर परिचालन गरिनेछ। जिल्लाभर सञ्चालन हुने यस गणनामा उद्योग, व्यापार, सेवा लगायतका सबै आर्थिक गतिविधिहरू समेटिनेछन्।
बैठकमा सुरक्षा निकायका प्रमुख, उद्योग वाणिज्य संघ, होटल व्यवसायी, सुनचाँदी व्यवसायी तथा यातायात क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
नेपालमा यसअघि एक पटक मात्र आर्थिक गणना गरिएकोमा अहिले दोस्रो पटक पुनः गणना गर्न लागिएको हो।





