एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १६ : आगामी फागुन २१ गते देशभर हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई भयरहित, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गराउन नेपाली सेनाको श्री विष्णुदल गणले धनुषा जिल्लामा आफ्नो परिचालनलाई तीव्र बनाएको छ। निर्वाचन सुरक्षा रणनीति अन्तर्गत उक्त गणले धनुषाका विभिन्न संवेनदशील क्षेत्रहरूमा आधुनिक सैन्य उपकरणसहितको गस्ती र आकस्मिक सुरक्षा अभ्यासहरू संचालन गरेको छ।
निर्वाचनको समयमा हुन सक्ने सम्भावित सुरक्षा चुनौती र उच्छृंखल गतिविधिहरूलाई निस्तेज पार्न श्री विष्णुदल गणले बख्तरबन्द गाडीहरूको प्रयोग गरी मुख्य सडक र चोकहरूमा आफ्नो बलियो उपस्थिति देखाएको छ। सडक संजालको सुरक्षा, द्रुत परिचालन र स्थानीय समुदायको नजिक पुग्न मोटरसाइकल गस्ती, सवारी साधन गस्ती र गाउँ–बस्तीका भित्री भागहरूमा पैदल गस्ती समेत संचालन गरेको छ।
निर्वाचनका बेला फैलाइने भ्रम वा शंकास्पद वस्तुको त्रासलाई व्यवस्थापन गर्न कमला नगरपालिका वडा नं. २, माचि स्थित वडा कार्यालय परिसरमा शंकास्पद वस्तु व्यवस्थापन सम्बन्धी अभ्यासका साथै मिथिला न.पा वडा नं २, हजराचोकमा आगलागी जस्ता विपद् प्रतिकार्यको अभ्यास पनि संचालन गरेको छ। यी अभ्यासहरूमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल बीचको उच्च स्तरको समन्वय देखिएको थियो।
आम नागरिकले निर्धक्क भएर मतदान केन्द्रसम्म पुग्ने वातावरण निर्माण गर्नु प्रमुख दायित्व रहेको र मतदान प्रक्रियालाई पूर्ण सुरक्षित बनाउन चौबीसै घण्टा तैनाथ रहेको श्री विष्णुदल गणका गणपति प्रमुख सेनानी खिलेन्द्रराज आमगाईंले बताउनुभयो । यो सुरक्षा सक्रियताले धनुषाका स्थानीय मतदाताहरूमा निर्वाचनप्रति थप उत्साह र सुरक्षाको भरोसा जगाएको छ।





