एसपी रिपोर्टर
राजविराज, असोज २५ : सप्तरीको खडक नगरपालिकामा कार्यरत शिक्षकहरूले चालु आर्थिक वर्षमा तलब नपाएको विरोधमा नगरपालिका कार्यालयको मूलगेटमै बुधबार तालाबन्दी गरेका छन् । नगर प्रमुख जयप्रकाश चौधरीले दशै अगाडि नै तलब भत्ता निकासा गरिदिने दिएको आश्वासन अनुसार अहिलेसम्म कुनै प्रकारको पहल नगरेको कारण तालाबन्दी गर्न बाध्य भएको शिक्षक धर्मराज सिंहले बताए ।
दशैंको मुखमा तलब भत्ता दिने अवस्था नदेखिएपछि असोज २ गते शिक्षकहरुको विरोध जनाउँदा नगर प्रमुखले शिक्षक तथा कर्मचारीलाई तलब भत्ता खुवाउन प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी दिने दिएको आश्वासन झुठो भएको अर्का शिक्षक कुलानन्द साहले भने, ‘अहिलेसम्म प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी दिएको छैन, यस सम्बन्धमा जिल्ला प्रशासन कार्यलयलाई समेत जानकारी गराउँदा पनि तलब भत्ता निकासा सम्बन्धी कुनै सुनुवाई नभएपछि तालबान्दी गर्न बाध्य भयौै ।’
केही दिन अघि शिक्षामन्त्री महाविर पुनले तलब नदिने प्रधानाध्यकलाई कारबाही गर्छौ भन्ने दिनु भएको अभिव्यक्तिका कारण विद्यालयमा शिक्षकहरुले तलब दिनुस, नभइ कारबाही हुन्छ । यसरी धम्काएपछि विद्यालयमा बस्ने, पढाउने, शिक्षकलाई शिक्षण कार्यमा लगाउने वातावरण नरहेकोले विद्यालयको पठपाठन ठप्प पारेर आन्दोलन गर्न विवस भएको प्रधानाध्यापकहरुले बताएका छन् ।

पालिका १५ जना शिक्षकहरूले तालाबन्दीपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा आर्थिक वर्ष २०८२÷८३ को तीन महिना बित्नलाग्दा पनि तलब भत्ता नपाएको भन्दै आक्रोश व्यक्त गरेका छन । विज्ञप्तिमा भनिएको छ, “ तलब निकासा सम्बन्धी कुनै प्रक्रिया अगाडी बढाएका छैन । हामी शिक्षकहरू विद्यालय सञ्चालनका लागि निरन्तर सक्रिय रहँदै आएका छौं, तर बिना तलब भत्ता घरपरिवारको गर्जो कसरी टार्ने, प्रश्न गरिएको छ । नगरपालिकाले लापरबाही गरेको कारण जीविकोपार्जनमै कठिनाइ भएको छ ।”
शिक्षकहरूले तलब भत्ताका लागि पटक–पटक नगरपालिकामा धाउने गरेको तर कुनै सुनुवाइ नभएको आरोप लगाएका छन् । उनीहरूले तत्काल तलब उपलब्ध नगराइए सम्पूर्ण विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गर्ने चेतावनी समेत दिएका छन । विज्ञप्तिमा उल्लेख छ, “तलबविहीन अवस्थामा शिक्षकहरूलाई कक्षा सञ्चालन गर्न बाध्य पारिनु अमानवीय व्यवहार हो । पालिकाले तत्काल तलबको व्यवस्था नगरेसम्म पठन–पाठन सञ्चालन हुन सक्दैन, शिक्षकहरुले माग गरेका छन ।
शिक्षकहरूले सो मागबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलाय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र जिल्ला प्रशासन कार्यालय सप्तरीलाई बोधार्थ दिएर ध्यानाकर्षण गराएका छन् । शिक्षक तथा कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृत विनय कुमार सोनुलाई कार्यालय प्रवेशमा रोक समेत लगाएको छ । प्रमुख प्रशासकीय अधिकृतलाई शिक्षकहरुले बाटोमै रोकेर तलब उपलब्ध गराउन माग गर्दै अभद्र व्यवहार गर्न खोजेका थिए ।
सो सम्बन्धमा प्रमुख प्रशासकीय अधिकृत विनय सोनुले शिक्षक तथा कर्मचारीको तलब भत्ता खुवाउन २४ घण्टै तयार रहेको बताए । तर अहिलेसम्म मेयर साहेबले अख्यिारी नै दिनु भएको छैन, उनले थपे । यता सो सम्बन्धमा नगर प्रमुख जयप्रकाश चौधरीसँग पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।



