एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ८ :
मधेश प्रदेशको राजधानी जनकपुरधाममा सञ्चालनमा रहेको सहकारी संस्थाहरुमा वैष्णवी वचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफना सदस्यहरुलाई प्रशिक्षित गर्ने काम गरेको छ । उनीहरुका लागि वैष्णविले सदस्य शिक्षा तथा व्यवसाय प्रर्वद्धन कार्यक्रमको आयोजना गरि प्रशिक्षण दिने कार्य गरेको छ ।

कार्यक्रमको समुदघाटन सत्रका वक्ताहरुले वर्तमान अवस्थामा सहकारी संस्थाहरु प्रति घटदो बिश्वासका बिच वैष्णवी सहितका केहि उदाहरणीय संस्थाहरुले गरिरहेको कामको प्रशंसा गरेका छन् । देशमा विभिन्न कारणले सबै सहकारीहरु ठग नै हुन भन्ने हल्ला छ, कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघको सञ्चालक समिति सदस्य नथुनि यादवले भने, ‘मधेश प्रदेशको सहकारीहरुमा वैष्णवी वचत तथा ऋण सहकारी संस्था लि. जस्ताले आफनो कामले यस्ता प्रचारवाजीलाई गलत सावित गरेको छ ।’

उनले कतिपय सहकारी संस्थाहरु सदस्यहरुका वचत रकम समयमा फिर्ता गर्न नसक्दा संस्थाहरुको हालबेहाल भएको दुःखेसो व्यक्त गर्दै सहकारीमा जनताको पैसा रहने हुनाले दुरुपयोग नगरी समयमा सावा व्याज चुक्ता गर्न आग्रह पनि गरे ।

उनले अल्पज्ञान र व्यवसायिक कार्यकुशलताको अभावमा केही सहकारी संस्थाहरु बदनाम भएको कारण आम–जनसमुदायमा विश्वासको वातावरण बनाउन जरुरी रहेको उल्लेख गरे । वैष्णवी वचत तथा ऋण सहकारी संस्था लि.का उपाध्यक्ष महेश्वर यादवको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा नेप्सकुन तालिम अधिकृत राजेन्द्र ढकाल, शिक्षा समितिको आशा खडका, राष्ट्रिय सहकारी महासंघ कमनिकेशन विभाग प्रमुख रामसुदन तिमिल्सिना, वैष्णवीका प्रमुख एवं व्यवस्थापक जयनाथ मण्डल, कार्यक्रम सञ्चालक दिलिप कुमार साह लगायत सैयौं सदस्यहरुको उपस्थिति रहेको थियो ।