एसपी रिपोर्टर
जनकपुरधाम, असार ८ : मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोबिन्द न्यौपानेले दूध दिने पशुको नश्ल सुधारमा ध्यान दिनुपर्ने बताउनुभएको छ । दुग्ध विकास बोर्डले जनकपुरधाममा आयोजना गरेको “स्वच्छ तथा गुणस्तरीय दुग्ध उत्पादन सङ्कलन तथा बजारीकरण सम्बन्धी सरोकारवालासँगको अन्तरक्रियामा मन्त्री न्यौपानेले यस्तो सुझाव दिनुभएको हो ।
उहाँले गाई, भैसी जस्ता दूध दिने पशु अत्यधिक संख्यामा पालेर मात्र नहुने भन्दै उनीहरूको नश्ल सुधार गरी उन्नत जातको बनाउन सके उत्पादन बढाउन सकिने बताउनुभयो । मन्त्री न्यौपानेले प्रदेश दुग्ध उत्पादनमा आत्म निर्भर नभएको समेत बताए । प्रदेशलाई दूधमा आत्मनिर्भर बनाउनका लागि पशुहरूको नश्ल सुधार, उन्नत जातको पशुपालन, पोषिलो आहार तथा आरामदायी पशु गोठको निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख विजय खनालले मधेश प्रदेशमा अनुमति पत्र लिएर १०८ वटा डेरी उद्योग सञ्चालनमा रहेको बताउँदै अनुमतिका लागि अझै थुप्रै निवेदन परे पनि प्रक्रिया नपुगेकाले अनुमति नदिइएको बताउनुभयो ।
बोर्डका निर्देशक शंकर साहले दूधमा सोडा मिलाउने काम पूर्ण रुपमा गलत भएको र यसले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने भन्दै दुधलाई फाड्न सोडा नमिलाउन आग्रह गर्दै चिस्यान विधीले एक उत्तम र र्निविकल्प रहेको बताए ।
एक जनालाई प्रति वर्ष ९२ लिटर दूधको आवश्यकता भए पनि मधेश प्रदेशमा उत्पादन भएको दूधले एक जनालाई ७२ लिटर मात्र पुग्ने गरेको प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष एवं वरिष्ठ पशु चिकित्सक डा. शम्भु साहले बताउनुभएको छ । अहिले प्रदेशमा ३ लाख ८१ हजार मेट्रिक टन उत्पादन हुने गरेको उनले जानकारी गराए । बोर्डका सदस्य सत्रुधन प्रसाद साह आजाद, आमसञ्चार प्राधिकारणका अध्यक्ष श्याम सुन्दर यादव सहित किसान, कर्मचारी सहितको उपस्थिती थियो ।





