एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २४:
विश्व फिजियोथेरापी दिवसको अवसरमा विशेषज्ञ फिजियोथेरापिस्ट रञ्जित कुमार साहले स्ट्रोक तथा हृदय र रक्तनलीसम्बन्धी रोगको रोकथाम, उपचार तथा पुनस्र्थापनामा फिजियोथेरापीको महत्त्वबारे जनचेतना आवश्यक रहेको बताएका छन् ।
उनले स्ट्रोक तथा हृदय र रक्तनलीसम्बन्धी रोगका कारण व्यक्तिको हिँडडुल, शारीरिक क्षमता र दैनिक जीवन प्रभावित हुने भन्दै स्वास्थ्य पुनस्र्थापनामा फिजियोथेरापीको महत्वपूर्ण भूमिका रहेको बताए ।
साहका अनुसार स्ट्रोकपछि हुने पुनस्र्थापना, हिँडडुल तथा सन्तुलन सुधार, शारीरिक गतिविधि बढाउने र विभिन्न जटिलताको जोखिम कम गर्न फिजियोथेरापी प्रभावकारी हुन्छ । नियमित फिजियोथेरापीले बिरामीलाई पुनः आत्मनिर्भर बनाउन तथा दैनिक गतिविधिमा सहजता ल्याउनसमेत सहयोग गर्ने उनले बताए ।
मुटु तथा रक्तनलीसम्बन्धी रोगको जोखिम कम गर्न नियमित शारीरिक गतिविधि, स्वस्थ जीवनशैली र समयमै स्वास्थ्य परीक्षणमा ध्यान दिनुपर्ने साहको भनाइ छ । रोगका चेतावनी संकेत पहिचान गरी समयमै उपचार तथा पुनस्र्थापना सेवा लिन सके स्वास्थ्यलाभमा सहज हुने उनले बताए ।
विश्व फिजियोथेरापी दिवसको सन्देशका रूपमा साहले नियमित रूपमा सक्रिय रहन, रोगका चेतावनी संकेत पहिचान गर्न, मुटुको स्वास्थ्यप्रति सचेत हुन तथा आवश्यक परे उचित पुनस्र्थापना सेवा लिन आग्रह गरेका छन् ।