एसपी रिपोर्टर
जनकपुरधाम, साउन १ :
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गुणस्तरीय स्वास्थ्य सेवा विस्तारका लागि स्वास्थ्य शिक्षालाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले दक्ष चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी उत्पादनबिना प्रभावकारी स्वास्थ्य सेवा सम्भव नहुने भएकाले स्वास्थ्य शिक्षामा विशेष जोड दिइएको बताए।
मुख्यमन्त्री यादवले सीमित स्रोत / साधन र विभिन्न चुनौतीका बीच प्रतिष्ठान पहिलो दीक्षान्त समारोहसम्म पुग्न सफल हुनु प्रदेश सरकारका लागि गौरवको विषय भएको उल्लेख गर्दै प्रतिष्ठानलाई सुविधा सम्पन्न बनाउन आवश्यक सहयोगमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे।

प्रतिष्ठानका कुलपतिसमेत रहेका उनले शिक्षण, अनुसन्धान र नवप्रवर्तनको केन्द्रका रूपमा प्रतिष्ठानलाई विकास गर्न प्रदेश सरकारले आगामी दिनमा थप योजना अघि बढाउने जानकारी दिए।
कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा. अंकुर साहले शिक्षण, अनुसन्धान तथा स्वास्थ्य सेवामार्फत दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ प्रतिष्ठान अघि बढिरहेको बताए। विभिन्न चुनौतीका बाबजुद पहिलो दीक्षान्त समारोह सम्पन्न हुनु प्रतिष्ठानका लागि ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै उनले दीक्षित विद्यार्थीहरूलाई समाज, राष्ट्र र मानव सेवाप्रति समर्पित भई आफ्नो पेशागत जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्न आग्रह गरे।

प्रतिष्ठानको पहिलो दीक्षान्त समारोहमा कुल ४३ जना विद्यार्थी दीक्षित भएका छन्। तीमध्ये बीएनएस प्रथम ब्याचका १३, दोस्रो ब्याचका १२ र तेस्रो ब्याचका १५ जना, एमडी/एमएसतर्फ एक जना तथा बीपीएचतर्फ दुई जना विद्यार्थी दीक्षित भएका छन्।





