एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २४ :
पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता महेन्द्र यादव ले मधेस प्रदेशमा मदिरा र गुटखाको बिक्री–वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाउन प्रदेश सरकारसँग माग गरेका छन्।
नेपाल–भारत मैत्री युवा संघ धनुषाद्वारा सञ्चालित लागूऔषधविरुद्धको जनचेतनामूलक अभियानलाई सम्बोधन गर्दै यादवले मदिरा र गुटखाबाट प्राप्त हुने राजस्वभन्दा तिनका कारण समाज र स्वास्थ्य क्षेत्रमा पुग्ने क्षति धेरै रहेको बताए। उनले प्रदेश सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिएर प्रतिबन्ध लगाउने दिशामा आवश्यक पहल गर्नुपर्ने धारणा व्यक्त गरे।

नेपाल–भारत मैत्री युवा संघका केन्द्रीय अध्यक्षसमेत रहेका यादवले मदिरा तथा गुटखाको सेवनबाट उत्पन्न हुने विभिन्न स्वास्थ्य समस्याको उपचारमा राज्य र नागरिक दुवैले ठूलो आर्थिक भार व्यहोर्नुपरेको उल्लेख गरे। उनका अनुसार यस्ता वस्तुबाट प्राप्त हुने आम्दानीभन्दा स्वास्थ्य उपचारमा हुने खर्च बढी छ।
यादवले युवा तथा विद्यार्थीलाई कुलत र लागूऔषधको दुष्चक्रबाट जोगाउने उद्देश्यले मधेस प्रदेशभर जनचेतनामूलक अभियान सञ्चालन गरिएको जानकारी दिए। देशको भविष्य युवा पुस्ताको काँधमा रहेको उल्लेख गर्दै उनले युवाको भविष्य सुरक्षित र उज्ज्वल भए मात्र राष्ट्रको भविष्य पनि सबल बन्ने बताए।

समाज र राष्ट्रलाई सही दिशामा अघि बढाउन युवा तथा विद्यार्थीको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उनले लागूऔषधविरुद्धको अभियानमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताए।
नेपाल–भारत मैत्री युवा संघ धनुषाका अध्यक्ष बजरंग यादव को अध्यक्षतामा आयोजित कार्यक्रममा मधेस प्रदेशका वन तथा वातावरण मन्त्री शंकर चौधरी, प्रदेशसभा सदस्य कुमरकान्त झा, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपाने, मुस्कान सुधार केन्द्रका सञ्चालक सञ्जय ठाकुर, चिकित्सक रविन झा तथा विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।





