एसपी रिपोर्टर
जनकपुरधाम, चैत १५ :
मधेश सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) कडा निगरानी र अनुशासित वातावरणमा सञ्चालन गर्ने तयारी गरेको छ। परीक्षा प्रणालीलाई निष्पक्ष र व्यवस्थित बनाउन प्रदेश सरकारले चिट चोरीविरुद्ध कडा रणनीति अपनाउने भएको हो।
शिक्षा तथा संस्कृति मन्त्रालयले चैत १९ गतेदेखि सुरु हुने एसईईलाई लक्षित गर्दै सबै सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ। आइतबार जनकपुरधाममा आयोजित तयारी बैठकमा शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले परीक्षा सञ्चालनमा कुनै पनि प्रकारको लापरवाही सह्य नहुने स्पष्ट पारिन्।

उनले मधेसमा बढ्दै गएको चिट चोरीको प्रवृत्ति नियन्त्रण गर्न प्रहरी, जिल्ला प्रशासन कार्यालय तथा शिक्षा निकायबीच सशक्त समन्वय गरिने जानकारी दिइन्।
“परीक्षाको विश्वसनीयता कायम राख्न सबै पक्ष जिम्मेवार र कडाइका साथ प्रस्तुत हुनुपर्छ,” मन्त्री तिवारीले भनिन्।
यस वर्ष मोबाइल फोन, स्मार्ट वाच लगायतका विद्युतीय उपकरणको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइने भएको छ। परीक्षा केन्द्रभित्र यस्ता सामग्री फेला परेमा जफत गरी सम्बन्धित पक्षको उपस्थितिमा तत्काल नष्ट गरिने चेतावनीसमेत दिइएको छ।
मन्त्री तिवारीले शिक्षा क्षेत्रमा ठूलो लगानी हुँदाहुँदै अपेक्षित नतिजा नआएकोप्रति चिन्ता व्यक्त गर्दै ‘चिट चोरी सामान्य हो’ भन्ने प्रवृत्ति अन्त्य गर्न कडाइ अपरिहार्य भएको बताइन्।





