एसपी रिपोर्टर
जनकपुरधाम, चैत ११ :
नेपालको विद्यालय शिक्षा क्षेत्र सुदृढ गर्ने उद्देश्यले सञ्चालनमा रहेको टेक्निकल सपोर्ट कोअपरेसन टु स्कूल एजुकेसन सेक्टर (टेक्सस) परियोजना मधेश प्रदेशमा औपचारिक रूपमा शुभारम्भ गरिएको छ।
कार्यक्रममा संघीय तथा प्रदेश सरकारका उच्चस्तरीय प्रतिनिधि, फिनल्याण्डको दूतावास, स्थानीय तहका पदाधिकारी तथा शिक्षा क्षेत्रमा क्रियाशील विकास साझेदारहरूको उल्लेख्य सहभागिता रहेको थियो।
फिनल्याण्ड र युरोपियन युनियनको संयुक्त लगानीमा सञ्चालन भइरहेको उक्त परियोजनाले नेपाल सरकारको विद्यालय शिक्षा क्षेत्र योजना कार्यान्वयनमा सहयोग गर्दै गुणस्तरीय तथा समावेशी शिक्षामा विशेष जोड दिने लक्ष्य राखेको छ।
परियोजनाको शुभारम्भ मधेश प्रदेशकी शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारी र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव शिव सापकोटाले संयुक्त रूपमा गरेका हुन्।
कार्यक्रममा मन्त्री तिवारीले मधेशमा अझै पनि परम्परागत शिक्षण पद्धति प्रयोग भइरहेकाले यस परियोजनाबाट शिक्षण प्रणालीमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरिन्।
त्यस्तै, परियोजनाका चिफ टेक्निकल एडभाइजर एइजा रिट्टा किन्नुनेनले टेक्सस परियोजना कर्णाली, मधेश र सुदूरपश्चिम प्रदेशमा कार्यान्वयनमा रहेको जानकारी दिँदै यसले शिक्षकहरूको अध्यापन शैलीमा सुधार ल्याउने र विद्यार्थीहरूको सिकाइ स्तरमा उल्लेखनीय प्रगति हुने बताइन्।
परियोजनाले संघीय, प्रदेश र स्थानीय तहबीच सहकार्य गर्दै शिक्षक शिक्षा क्षेत्रको दीर्घकालीन विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।





