एसपी रिपोर्टर
पर्सा, बैशाख १९ :
नेपालमा यतिबेला कोरोना भाइरस महामारीको दोस्रो कहर जारी छ । पहिलेभन्दा अझ बढी क्षति भइरहेको छ । संक्रमितले अहिले अधिकांश अस्पताल भरिभराउ छन् । बेड पाउनै मुश्किल छ । भारतसँग खुल्ला सीमानाका जोडिएको पर्सा जिल्ला कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको छ । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमण हुने र संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या उकालो लाग्ने क्रम रोकिने कुनै छाँटकाँछ छैन ।

दिनप्रतिदिन संक्रमित तथा मृत्यु हुनेको संख्या बढ्दो क्रममा छ । बिहिवारदेखि स्थानीय प्रशासनले पर्सा जिल्लामा निषेधाज्ञा जारी गरेपनि अन्य व्यवस्थापनमा भने सरोकारवाला चुकेको जनता समाजवादी पार्टी ‘जसपा’ का युवा नेता तथा सामाजिक अभियानता ओमप्रकाश सर्राफले बताएका छन् । स्थानीय सरकारले आफ्नो बलबुँताले भ्याउनेसम्मका कामहरु गरीरहेको भएपनि यता प्रदेश नम्बर २ सरकार र संघिय सरकार भने आफ्नो जिम्मेवारीबाट पन्छिएको आभाष नागरिकले गरेका छन् । सोही गैरजिम्मेवारपनलाई ध्यानाकर्षण गराउन वीरगञ्जका समाजसेवी तथा अभियानाहरु जागरुप भएका छन् ।

सर्राफको सक्रियतामा स्वास्थ्यमन्त्रीलाई एसएमएस पठाउने अभियानको थालनी गरिएको छ । कोरोना भाइरसले थला परेको वीरगञ्जमा हालसम्म कोरोना विशेष अस्पताल नबनाउनु, जनशक्तिको अभाव, परीक्षणको फितलो व्यवस्थापन, भ्याक्सिनको अभाव लगायतका समस्याहरुबाट गुज्रिरहेको छ ।

फलस्वरुप संघिय स्वास्थ्यमन्त्री हृदेश त्रिपाठीलाई ध्यानकर्षण गराउँदै शुक्रवारदेखि एसएमएस पठाउने अभियानको थालनी गरिएको युवा नेता सर्राफले बताए । ‘नमस्ते स्वास्थ्य मन्त्री ज्यु, तपाई के गर्दै हो ? वीरगञ्ज कोरोनाले थला परिसक्यो । वीरगञ्जमा थप जनशक्ति पठाउनु, थप कोरोना अस्पताल बनाउनु, हटस्पटहरुमा तुरुन्तै भ्याक्सिन उपलब्ध गराउनु ।’ सर्राफका अनुसार यही एसएमएस अहिलेसम्म १ सय भन्दा धेरै युवा एवम् अभियानताहरुले पठाइसकेका छन् । स्वास्थ्य मन्त्री त्रिपाठीको सम्पर्क नम्बर ९८५१००२२२२ मा दवावस्वरुप खबरदारी गर्न अरुलाई पनि एसएमएस पठाउन सर्राफले अपिल गरेका छन् ।

दैनिक संक्रमणदर नेपालमा बढ्दो छ । यसैबीच, नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १५ हजार ३ सय ९१ नमूनाको पीसीआर परीक्षण र ५ सय २५ जनाको एन्टिजेन परीक्षण भएको थियो। त्यसमध्ये पिसिआर विधिबाट ५ हजार ६ सय ५७ जना र एन्टिजेन विधिबाट ७० जना गरी ४ हजार ५ सय ७ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो सगैदेशभर सक्रिय संक्रमित संख्या ३८ हजार ८ सय १३ रहेको छ। कोरोनाबाट निको हुनेको दर ८६.९ प्रतिशत छ।

योसँगै नेपालमा कूल संक्रमितको सङ्ख्या तीन लाख २३ हजार १ सय ८७ पुगेको छ। गत २४ घण्टामा ९२८ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ८१ हजार ९५ पुगेको मन्त्रालयले जनाएको छ। आज देशभर ५५ जना क्वारेन्टाइनमा छन् । पछिल्लो २४ घण्टामा थप ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३२७९ पुगेको छ ।

तपाई हामी सबैले फेरि पनि नबिर्सौं, आजका दिनमा कोरोनाविरूद्ध लडाईमा सरकार होइन, आममानिस नै निर्णायक हो । नियन्त्रण गर्न सक्ने हामीले नै हो । यो नियन्त्रणबाहिर गए, दुःख पाउने पनि हामीले नै हो ।