एसपी रिपोर्टर
जनकपुरधाम, माघ ३० : कांग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारीले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओलीले जनतालाई धोका दिएको आरोप लगाएका छन । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल केन्द्रिय समिति विभागले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा पुर्व वन मन्त्री समेत रहेका नेता भण्डारीले प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर जनताको जनादेश एवं जनमतको अपमान गरेको बताएका छन् ।
नेता भण्डारीले वर्तमान सरकारले असवैधानिक कदम चालेर संसद विघटन गर्नु जनतासंग बेइमानी भएको आरोप समेत लगाएका छन । उनले भने, ‘देश, जनता, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली र संविधानका लागी प्रतिनिधिसभा प्राप्त गर्नु नै अपरिहार्य छ ।’ कांग्रेसको एजेण्डा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र यसको सुरक्षा नै रहेको उनले दावी गरे ।

नेता भण्डारीले संघीय लोकतान्त्रिक गणन्त्रात्मक प्रणाली सहितको व्यवस्था र संविधानको रक्षाका लागी प्रतिनिधिसभा आवश्यक रहेकोले सर्वोच्च अदालतको फेसला मान्नुपर्ने अवस्था नै उपयुक्त हुने बताए । उनले अहिले ठुला–ठुला नारा र भाषन गरेर जनतालाई भ्रमित गर्नमा लागेको आरोप लगाए ।
नेपाल तरुण विभाग केन्द्रिय समितिको तेस्रो बैठक जनकपुरधाममा सुरु भएको छ । शनिवार समितिको प्रदेश स्तरीय गोष्ठि हुने समेत बताइएको छ । गोष्ठिमा प्रदेशका ८ वटै जिल्लाका अध्यक्षहरुको उपस्थिति रहने जनाइएको छ ।





