एसपी रिपोर्टर
जनकपुरधाम, माघ १५ : तत्कालिन राजा महेन्द्र माथि जनकपुरधाममा बम प्रहार गरेका प्रथम गणतन्त्रवादी शहीद दुर्गानन्द झाको ५८ औं बलिदान दिवसमा वक्ताहरुले उनको नाममा राष्ट्रिय राजमार्गको नामांकरण तथा संग्रहालय स्थापना गर्न सरकारसँग माग गरेका छन् ।
अमर शहीद दुर्गानन्द झा स्मारक निर्माण समितिद्धारा बिहीबार जनकपुरधाममा आयोजना गरिएको बलिदान दिवसमा समितिका अध्यक्ष समेत रहेका दुर्गानन्दका सहयात्री प्रजातन्त्र सेनानी वरिष्ठ पत्रकार राजेश्वर नेपालीले उनको पूर्णकदको अष्टधातुको ६ फिटको प्रतिमा तयार भएको ९ वर्ष बितिसक्दापनि स्थापित हुन नसक्नु बिडम्वना रहेको बताएका छन् । बम प्रहार गरिएको घटनास्थल जानकी मन्दिर परिषरमा स्मारक निर्माणका लागि शिलान्यास भएको ८ वर्ष बितिसकेको भएपनि केही विरोधी तत्वहरुको बक्रदृष्टिका कारण स्मारक निर्माण नभएको उनको भनाई छ ।

कार्यक्रममा प्रदेशसभा सदस्य परमेश्वर साहले अमर शहीद दुर्गानन्दको बलिदानी दिवसलाई राष्ट्रव्यापी रुपमा मनाउन र सोबाट दलहरुले शिक्षा लिन आवश्यक भएको बताए । कार्यक्रममा जीउंदो शहीद महेन्द्र मधुकर, रामहृदयप्रसाद, चन्द्रशेखर राय, रामगोविन्द यादव, केवल शर्मा, नेपाल प्रेस यूनियनका पूर्व केन्द्रिय सदस्य श्रीनारायण साह, पत्रकार कमल साह, उपेन्द्र भगत नागवंशी, पञ्चलाल दास लगायतका बुद्धिजीविहरुले दुर्गानन्दको योगदनमाथि प्रकाश पारेका थिए ।
जननायक विशेश्वप्रसाद कोईराला नेतृत्वको सरकारलाई तत्कालिन राजा महेन्द्रद्धारा वि.सं.२०१७ सालमा प्रजातन्त्रको हत्या गरिएको एक वर्षपछि वि.सं. २०१८ साल माघ ९ गते राजा जनकपुरधाम आउंदा १९ वर्षीय युवा नेता दुर्गानन्द झाले जानकी मन्दिर प्राङ्गणमा राजा सवार गाडी माथि बम प्रहार गर्दा राजा बल्लतल्ला बांचेका थिए । दुर्गानन्दलाई सुरक्षाकर्मीले पक्राउ गर्न सकेन ।

उनको नाममा पक्राउ परेका अन्य साथीहरुमाथि वर्वतापूर्ण यातना दिएको सुनेपछि स्वयं २०१८ साल वैशाखमा दुर्गानन्दले आफै गिरफ्तारी दिएका थिए । उनलाई वि.सं.२०२० साल माघ १५ गतेको रातिमा काठमाण्डौस्थित सुनधारा केन्द्रिय कारागारमा फांसी झुण्ड्याई गोली हानेर मृत्युदण्ड दिइएको थियो । उनले हातमा गीता पुस्तक लिएर हांसीहांसी प्रजातन्त्रका लागि मृत्युवरण गरेका थिए । शहिद झा धनुषाको जटही निवासी देवनारायण झा र माता सुकुमारी देवी झाका एक मात्र सन्तान थिए ।





