एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २४:
रसुवामा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि ग्यास विक्रेता संघ धनुषाले राहत रकम तथा सामग्री सहयोग गरेको छ।
संघले आफ्ना सदस्यहरूबाट संकलन गरेको ८१ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न जिल्ला प्रशासन कार्यालय, धनुषामार्फत पठाएको जनाएको छ। त्यस्तै, बाढी प्रभावितका लागि १४० थान ट्र्याकसुट जनकपुरधाम उद्योग वाणिज्य संघमार्फत पठाइएको छ।
ग्यास विक्रेता संघ धनुषाका अध्यक्ष फुलदेव पण्डितले रसुवामा बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्को समयमा पीडित परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले संघका सदस्यहरूबाट रकम तथा सामग्री संकलन गरिएको बताए।
उनले बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि संघले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।