एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २३:
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्दै आएको क्षतिका लागि अन्तर्राष्ट्रिय समुदायसँग राहतभन्दा जलवायु न्याय माग्नुपर्ने बताएका छन्।
रसुवाको भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि जनकपुरधाम उद्योग वाणिज्य संघको पहलमा संकलित राहत सामग्री सार्वजनिक गर्ने कार्यक्रममा मंगलबार बोल्दै मुख्यमन्त्री यादवले जलवायु परिवर्तनबाट नेपालमा परेको असरबारे अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा आवाज उठाउन संघीय सरकारलाई आग्रह गरे।
ठूला मुलुकले ठूलो मात्रामा कार्बन उत्सर्जन गर्ने तर त्यसको असर नेपालजस्ता कम कार्बन उत्सर्जन गर्ने मुलुकले बाढी, पहिरो, खडेरीलगायत प्राकृतिक विपद्का रूपमा भोग्नुपरिरहेको उनको भनाइ थियो। चीन, भारत र अमेरिकाजस्ता मुलुकबाट ठूलो मात्रामा कार्बन उत्सर्जन भइरहेको उल्लेख गर्दै उनले जलवायु परिवर्तनबाट नेपालले व्यहोरेको क्षतिका लागि क्षतिपूर्तिसहित न्यायको माग गर्नुपर्ने बताए।
मुख्यमन्त्री यादवले जलवायु परिवर्तनबाट प्रभावित मुलुकका रूपमा नेपालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो विषय प्रभावकारी रूपमा उठाउनुपर्नेमा जोड दिए। जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विश्व समुदायले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो।
भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि मधेश प्रदेश सरकार सहयोग गर्न प्रतिबद्ध रहेको मुख्यमन्त्री यादवले बताए। बाढी आएको दिन नै प्रदेशका मन्त्री तथा कर्मचारीको एक दिनको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको उनले जानकारी दिए।
प्रदेश सरकारले राहतको दोस्रो चरणअन्तर्गत प्रभावित क्षेत्रमा पठाउन करिब दुई करोड रुपैयाँ बराबरका पाल खरिद गरिसकेको उनले बताए। ती पाल छिट्टै प्रभावित क्षेत्रमा पठाइने उनको भनाइ छ।
त्यसपछि तेस्रो चरणमा बाढीपीडितका लागि खाद्यान्न, लत्ताकपडालगायत आवश्यक सामग्री पठाउने तयारी भइरहेको उनले जानकारी दिए। विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै पुनर्स्थापनाका काममा समेत प्रदेश सरकार आवश्यक सहयोग गर्न तयार रहेको उनले बताए।
नेपालमा हरेक एक–दुई वर्षमा प्राकृतिक विपद्का घटना दोहोरिँदै आएको उल्लेख गर्दै मुख्यमन्त्री यादवले प्रदेश सरकारले विपद् कोष स्थापना गरी प्रभावित नागरिकलाई सहयोग गर्दै आएको बताए। आगामी दिनमा पनि विपद्का समयमा आवश्यक सहयोगलाई निरन्तरता दिने उनले प्रतिबद्धता जनाए।





