एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २३:
जनकपुरधाम उद्योग वाणिज्य संघले बाढी प्रभावित परिवारका लागि संकलन गरेको राहत सामग्री सार्वजनिक गरेको छ।
मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको उपस्थितिमा संघले संकलन गरेको राहत सामग्री सार्वजनिक गरेको हो। बाढी प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा, जुत्ताचप्पल, भाँडाकुँडा तथा दैनिक उपभोग्य सामग्री संघको टोलीले संकलन गरेको जनाएको छ।
संघका अनुसार संकलित राहत सामग्रीमा ७५ बोरा चामल, २१ बोरा सोयाबिन, दाल, नुन, चिउरा, मुरही, चाउचाउलगायत खाद्य सामग्री रहेका छन्। यस्तै, विभिन्न प्रकारका लत्ताकपडा, जुत्ताचप्पल, कम्बल, बेडसिट, टावेल तथा बालबालिकाका कपडासमेत संकलन गरिएको छ।

बाढी प्रभावित परिवारको दैनिक आवश्यकतालाई ध्यानमा राख्दै ७५ थान तावा, ७५ थान कराही, २०० थान थाली, २०० थान कचौरा र २०० थान गिलासलगायत भान्सामा प्रयोग हुने सामग्री पनि संकलन गरिएको छ। राहत सामग्रीमा एक थान सिलाइ मेसिनसमेत रहेको छ।
विपद्को समयमा पीडित परिवारलाई केही भए पनि राहत पु¥याउने उद्देश्यले व्यवसायी, सहयोगी तथा विभिन्न संघसंस्थाको सहकार्यमा राहत सामग्री संकलन गरिएको राहत संकलन समितिका संयोजक जितेन्द्र महासेठले जानकारी दिए।
महासेठले राहत सामग्री पीडित परिवारसम्म नपुगेसम्म अभियान जारी रहने बताए। संकलित राहत सामग्री लिएर बुधबार बाढी प्रभावित क्षेत्रमा जाने तयारी रहेको उनले जानकारी दिए।
राहत सामग्री सार्वजनिक कार्यक्रममा मधेस प्रदेशसभा सदस्य दीपेन्द्र ठाकुर, जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साह, पूर्व प्रदेशसभा सदस्य परमेश्वर साह, जनकपुरधामका पूर्व नगरप्रमुख लालकिशोर साह, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ तथा नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साहलगायतको उपस्थिति रहेको थियो।





