एसपी रिपोर्टर
जनकपुरधाम, असार २७ : मोटरसाइकल चढेर दूध बेच्ने, तरकारी बेच्ने र श्रम गर्ने श्रमिकहरूको सवारी साधनमा जरिवाना गरी राजस्व वृद्धिमा गिद्देनजर हुने प्रहरीहरूको जनकपुर बजारमा दिनदहाडै निर्बाध रूपमा भारतबाट भन्सार छली ल्याइएका विद्युतीय सवारी साधनमा नजर पुग्न सकेको छैन ।
जनकपुरमा त्यस्ता विद्युतीय सवारी साधन बेच्ने व्यवसायीहरूका अनुसार भारतका विभिन्न सीमावर्ती बजारहरूबाट करिब ३ सयको संख्यामा त्यस्ता अवैध विद्युतीय स्कुटर र साइकल भित्रिएर निर्बाध चलिरहँदा प्रहरी मौन छ ।

त्यस्ता विद्युतीय स्कुटरहरू नेपालमा चलाउँदा नम्बर प्लेट र सवारी चालक अनुमति पत्र पनि आवश्यक पर्दछ, तर जनकपुरका सडकहरूमा बिना नम्बर प्लेटका त्यस्ता सवारी साधनहरू निर्बाध रूपमा चल्ने गरेको देखिन्छ । भारतको सुरसण्ढ, बासोपट्टी, मधवापुर सहितका सीमावर्ती बजारहरूबाट सस्तो पर्ने भएकाले दिनदिनै त्यस्ता सवारी साधनहरू नेपाली बजारमा भित्रिँदै गएका छन् ।

भारतीय बजारमा ४५ देखि ६० हजार आईसीमा मात्र पाउने त्यस्ता सवारी साधनहरू नेपाली बजारमा किन्दा डेढ देखि दुई लाख सम्म पर्ने गरेको हुनाले पनि नेपाली बजारमा भन्दा भारतीय बजारहरूबाट यी सवारी साधनहरू आयात गर्न लागिएको छ ।
यस विरुद्ध नेपाली व्यवसायीहरूले गत असार १ गते जिल्ला प्रशासन कार्यालय धनुषामा निवेदन दर्ता गराइसकेका छन् भने जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालय धनुषालाई आवश्यक कारबाहीका लागि निर्देशन समेत दिइसकेको देखिन्छ, यद्यपि त्यस्ता सवारी साधनहरू नियन्त्रण र अवरोधमा कुनै चासो नदेखिँदा जनकपुरका सडकहरूमा निर्बाध गुडिरहेका छन् ।
कोमाकी, ओडिसी र जेलियो सहितका कम्पनीका त्यस्ता विद्युतीय सवारी साधनहरू जनकपुरधाममा गुडिरहेको देखिन्छ, सवारी साधनको पछाडि नम्बर प्लेट हुनुपर्नेमा कम्पनीकै नाम उल्लेख भएर त्यस्ता सवारी साधनहरू निर्बाध रूपमा चलाइने गरिएको छ । यस सम्बन्धमा जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषामा चासो राख्दा त्यस्ता सवारी साधनहरूको आफूहरूले कागजातको खोजी र चेकजाँच गर्ने गरेको बताइएको छ ।





